काठमाडौंको बोहोराटारमा हाइटेन्सन लाइनको टावरमुनि जोखिम हुने गरी यात्रु प्रतीक्षालय राखिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा त्रिशूलीबाट आउने २२० केभीको हाइटेन्सन लाइनको टावरमुनि प्रतीक्षालय राखिएको हो।
यसरी राखिएको जोखिमयुक्त प्रतीक्षालयबारे भने सम्बन्धित निकाय बेखबर देखिएको छ। वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिइन्। ‘यसबारे जानकारी भएन। कहाँनिर हो भन्ने हेर्न पठाउँछु,’ उनले भनिन्, ‘यसबारे बुझेर खबर गर्छु।’
प्रतीक्षालयमा भविष्यको लागि साथीहरूको बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखिएको छ। प्रतीक्षालयकै वरिपरि पनि अन्य कुर्सीहरू समेत राखिएका छन्। त्यो ठाउँ बसस्टप समेत हो।
हाइटेन्सन लाइनकै आसपास घरहरू पनि छन्।
यसरी हाइटेन्सन लाइनको टावरमुनि नै प्रतीक्षालय राख्नु जोखिम हुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। तर त्यसरी राखिएकोबारे आफ्नो जानकारीमा नभएको बताए।
‘यसबारे मलाईभन्दा पनि त्यहाँ नजिकैको सम्बन्धित कार्यालयलाई थाहा भएको हुनसक्छ। हाइटेन्सन लाइनको टावरमुनि प्रतीक्षालय राख्ने कुरा जोखिमकै विषय हो,’ उनले भने।
-1752492088.jpeg)
यसबारे सहकारीका अध्यक्ष ऋषि अधिकारीसँग पनि कुराकानी गरेका छौं। उनले आफूहरूको प्रतीक्षालय भए पनि केही वर्षअघि हाइटेन्सन टावर बाहिर राखिएको बताए। तर सडक विस्तार गर्दा बाहिर रहेको प्रतीक्षालयलाई अरूले नै टावरको घेराभित्र राखेको उनको भनाइ छ।
‘हामीले केही वर्ष अघि बनाउँदा अगाडिपट्टी राखेका थियौं। पोललाई नछोइकनै राखेका थियौं। तर पछि बाटो बनाउनेबेलामा त्यहाँ लगेर राखिदिएछन्,’ उनले भने, ‘जोखिम त हुन्छ तर कसले त्यहाँ लगेर राखिदिए। त्यहाँबाट हटाउनलाई हामीलाई कुनै समस्या चाहिँ छैन।’
टावरभन्दा बाहिर राखिएको उक्त प्रतीक्षालयलाई पोलको घेराभित्र नागार्जुन समूहले राखेको हो। उक्त समूहका अध्यक्ष प्रकाश बलामीले भने आफूहरूले विज्ञसँग कुराकानी गरेर मात्रै त्यहाँ राखिएको बताए।
उनले केही वर्षअघि नै सडक विस्तारको काम हुँदा यात्रुहरू कुर्न आउने भएकाले प्रतीक्षालयलाई भित्र सारेको बताए।
‘प्रतीक्षालय त सहकारीले नै राखेको हो। माइक्रोबसको स्टप बनाउनका लागि बाटोमा जाम भयो भनेर भित्र राखिएको हो। हामीले भित्र मिलाएका मात्रै हौं,’ उनले भने, ‘जोखिम हुन्छ भने त निकाल्दा पनि समस्या त भएन। तर मानिसहरू त्यहीँ आएर कुर्छन्। मानिसहरू पानी पर्दाखेरि बस्न हुन्छ भनेर हामीले व्यवस्थित मात्रै गरिदिएका हौं।’
एकपटक आफूहरूले हटाउनेबारे कुरा पनि गरेको र विज्ञसँग सल्लाहसमेत गरेको पनि उनले बताए। विज्ञले नै कुनै समस्या नहुने बताएपछि आफूहरूले केही नगरेको पनि बताए।
‘तत्कालीन वडाध्यक्ष हुँदा नै बजेट विनियोजन गरी ढुंगा बिछ्याएको थियो। कुर्सीहरू पहिल्यै थिए। प्रतीक्षालय हटाउन पनि मान्नु भएन। त्यसपछि हामीले व्यवस्थित गर्न भित्र राख्यौं,’ उनले भने, ‘विज्ञसँग पनि कुरा गरेका थियौं। ती विज्ञले अहिले केही फल्ट भइहाल्यो भने अटोमेटिक नै सिस्टम हुन्छ समस्या हुन्न भनेर भनेका थिए।’
उनले आफू सानो हुँदादेखि नै हाइटेन्सन लाइन रहेको भए पनि अहिलेसम्म कुनै भवितव्य नभएको पनि बताए।
-1752492087.jpeg)