राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेर अन्तरिम सरकारमा मन्त्री हुन जाने आफ्नो कुनै मनसाय नरहेको बताएकी छन्।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा सहभागी हुन गएपछि सुमना अब रास्वपा छाडेर अन्तरिम सरकारमा मन्त्री नियुक्त हुन्छिन् कि भन्ने धेरैको अनुमानबीच उनले सेतोपाटीसँग कुरा गर्दै त्यसलाई अस्वीकार गरेकी हुन्। उनी शपथग्रहण समारोहमा सहभागी एक मात्र सांसद हुन्।
'म पार्टी छाड्ने मनस्थितिमा छैन। बरू अहिले सबै पार्टी पुनर्गठन गर्नुपर्ने बेला हो,' उनले शनिबार सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा भनिन्, 'म अहिले मन्त्री पनि बन्दिनँ।'
मन्त्री हुन नचाहनुको कारण खुलाउँदै उनले भनिन्, 'यो विद्रोह कुनै पार्टीले गरेको विद्रोह होइन, यो त पुस्ताले नै गरेको विद्रोह हो, भविष्यले नै गरेको विद्रोह पनि हो। अतः यो सफल हुनैपर्छ। यसलाई सफल बनाउनै पर्छ। त्यसर्थ म अहिले मन्त्री बन्दिनँ।'
उनले हामीसँगको कुराकानीमा रास्वपा लगायतका राजनीतिक दलहरूको पुनर्गठनको आवश्यकतामा जोड दिइन्।
'सबै पार्टी पुनर्गठन गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि सुधारका लागि आवाज उठाउँदै आएको हो। अब प्रयास गर्ने नै हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिँदै गर्दा पार्टीहरूको कार्यशैली र सञ्चालनको तौरतरिका भएन, तत्काल परिवर्तन गर्नुपर्छ नै भन्ने थियो। हामी सबै नेपाली हो, यो पार्टी, त्यो पार्टी भने पनि। राजनीति सेवा हो। राजनीतिकर्मीहरूले त केवल सहजीकरण गर्ने हो। प्रयास जारी नै छ,' उनले भनिन्।
सुमनाले देशले प्रथम महिला प्रधानमन्त्री पाएको खुसी पनि व्यक्त गरेकी छन्।
'हिजो त मेरो ठूलो सपनाको दिन थियो। म जहिले पनि सोचिरहन्थेँ – यो देशले महिला प्रधानमन्त्री पाउँछ कि पाउँदैन होला? समाजले स्विकार्छ कि स्विकार्दैन होला? हिजो देशले महिला प्रधानमन्त्री पायो। यसर्थ सबैभन्दा बढी खुसी म नै भएँ,' उनले भनिन्, 'त्यही उत्सवको साझेदारीका लागि पनि म त्यहाँ सहभागी हुन गएको हुँ।'
शपथग्रहण सकिएपछि उनले सामूहिक फोटो खिचाउने क्रममा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई अंकमाल गरिरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो।
सुमनानिकट नेताहरूका अनुसार जेन–जी आन्दोलनमा उनको सुरूदेखि नै समर्थनभाव थियो। उनी भदौ २४ गते बानेश्वर क्षेत्रमा पनि पुगेकी थिइन्।
जेन–जी विद्रोह सामान्य राजनीतिक घटना नभएको उनको बुझाइ छ। यो विद्रोहले नयाँ पुराना सबै दललाई रूपान्तरणको सन्देश दिएको उनले बताइन्।
'अब सबै पार्टीले अनुभूत गर्नुपर्छ, महसुस गर्नुपर्छ र सोच्नुपर्छ। पुराना पार्टीहरूले सार्वजनिक सेवा अपहरण गरेका थिए। सार्वजनिक सेवालाई सार्वजनिक सेवा नै हुन दिएका थिएनन्,' उनले भनिन्, 'राज्य शक्तिशाली भएर जनतालाई सेवा गर्नुपर्नेमा राजनीतिककर्मीहरू शक्तिशाली भएर राज्यलाई पंगु बनाए।'
उनले आफ्नै पार्टी रास्वपाको कार्यशैलीप्रति आफू बेखुस रहेको पनि बताइन्। रास्वपाले सुधारका काम गरेको भए ५१ जनाको हताहती हुने गरी भएको विद्रोहलाई एक हिसाबले रोक्न सकिने आफूलाई लागिरहेको उनको धारणा थियो।
'कहिलेकाहीँ म दुःखी पनि हुन्छु, ५१ जना मानिसको मृत्यु भएको छ। त्यो कतै न कतै हामीले रोक्न सक्थ्यौं कि! हामीले यी असन्तुष्टिका आवाज समेट्दै गएको भए यो विद्रोह रोक्न सकिन्थ्यो कि भनेर दुःख पनि लाग्छ,' उनले भनिन्, 'त्यसैले विद्रोहका क्रममा भएका हताहती, जलेका भौतिक संरचना, जताततै छाएको त्रास र भयको वातावरणको केही न केही जिम्मेवारी रास्वपाले पनि लिनुपर्छ भन्ने मलाई लाग्छ।'
उनले अगाडि भनिन्, 'रास्वपा पनि यो भएन भन्ने असन्तुष्टिकै परिणाम त हो। म पनि पार्टीमा लागेको पनि यो भएन भनेर नै हो। यसमा छलफल गर्दै जानुपर्ने बेला यो विद्रोह भयो। त्यसमा सबै दल, साथसाथै नयाँ दलले पनि जिम्मेवारी लिनुपर्छ।'
उनले यो पनि भनिन्, 'राणाकालदेखिको परिवर्तनमा परिवर्तनकारीहरूले सम्झौता गर्नुपरेको छ। सम्झौतामा टुंगिएको छ। यस्तो परिवर्तन भइसकेपछि नयाँलाई काम गर्न दिनुपर्छ। उनीहरूलाई नै अवसर दिनुपर्छ। हाम्रो हरेक पटकको परिवर्तनमा जसको विरूद्ध विद्रोह हुन्छ, त्यहीँ उनीहरूसँग बसेर, पुरानो र नयाँबीच कुनै भिन्नता नै नदेखिने काम भयो।'
राष्ट्रिय स्वतन्त्र पार्टीको गल्ती पनि त्यही भएको उनको बुझाइ छ।
'अहिले पनि त्यही चाहिँ नहोस् भन्ने मेरो कामना हो। यो युवाले गरेको परिवर्तनमा उहाँहरूले छानेको नै अगाडि आउनुपर्छ भन्ने मेरो विचार छ,' उनले भनिन्।
युवाहरूको विद्रोहपछि बनेको सरकारमा युवाले छानेको मन्त्रीका रूपमा नभई युवाले नेतृत्व गरेको मन्त्रालयको सचिवालयमा बसेर काम गर्न भने आफू इच्छुक रहेको उनले बताइन्।