गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईका जेठान ज्ञानबहादुर बमजनले कम्पनीबाट १ करोड २९ लाख ३ हजार ७१४ रूपैयाँ ऋण/पेस्की लिएको अस्वीकार गरेका छन्।
संकटग्रस्त सहकारी छानबिन गर्न बनेको संसदीय छानबिन समिति, पोखरा महानगरको वित्तीय विष्लेषण प्रतिवेदन र पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा पेस गरेको अभियोग पत्रमा बमजनले गोर्खा मिडियाबाट उक्त रकम ऋण/पेस्की भनेर लिएको उल्लेख छ।
आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर दिएको बयानमा बमजनले गोर्खा मिडियाबारे आफूलाई केही थाहा नभएको र उक्त मिडिया स्थापना हुँदा आफू अमेरिका रहेको पनि बताएका छन्।
‘गोरखा मिडिया कहिले दर्ता भयो, मलाई थाहा छैन। म उक्त कम्पनीका सेयर होल्डर र कर्मचारी पनि होइन,’ उनले बयानमा भनेका छन्, ‘कम्पनीको बारेमा मलाई केही थाहा छैन। उक्त कम्पनी दर्ता हुने बेला म नेपालमा पनि थिइनँ। अमेरिकामा थिएँ।’
बमजन पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन्। उनकै सक्रियतामा स्थापना भएको सहकारीमा उनी २०६५ भदौ २७ देखि २०७६ माघ ५ गतेसम्म अध्यक्ष थिए। उनले नै जिबी राईलाई सहकारीमा भित्र्याएर अध्यक्ष बनाएका थिए। बमजनकी बहिनी भगवतीलाई जिबीलाई दोस्रो विवाह गरेका थिए। सहकारी ठगी अभियोगमा जिबी र भगवती दुवै जना अझै फरार छन्।
अभियोगपत्र र छानबिन प्रतिवेदनहरूमा बमजन अध्यक्ष हुँदा सहकारीबाट १ करोड ५४ लाख ४९ हजार ८३६ रुपैयाँ प्रक्रिया पूरा नगरी लगानी गरेको र अधिकांश रकम आफू र आफ्नो आफन्तलाई दिएको उल्लेख छ।
बमजन अध्यक्ष हुँदा अपचलन भएको उक्त रकममध्ये आफ्नो नाममा २६ लाख ७० हजार ८७१, उनका ज्वाइँ जिबी राई र बहिनी भगवती बमजनको नाममा ३७ लाख ९ हजार ४६८ र अन्य आफन्त एवं व्यक्तिका नाममा थप ५३ लाख ७६ हजार ३०८ रुपैया प्रक्रिया पूरा नगरी प्रवाह गरेको छानबिन प्रतिवेदनमा छ। उक्त रकमको साँवा–ब्याज अहिलेसम्म पनि उठ्न नसकेको प्रतिवेदनमा लेखिएको छ।
अदालतमा हाजिर भएर बमजनले भने उक्त अभियोग पनि अस्वीकार गरेका छन्। अभियोग लागेको ८ महिनापछि अदालतमा उपस्थित भएर दिएको बयानमा बमजनले आफू अध्यक्ष रहँदा सहकारी राम्रोसँग चलेको र कुनै आर्थिक अपचलन नगरेको पनि दाबी गरेका छन्।
अभियोग पत्रमा सूर्यदर्शन सहकारीबाट बमजनको स्टाण्डर्ड चाटर्ड बैंकमा रहेको खातामा २६ लाख ७० हजार ८७१ रुपैयाँ कारोबार भएको उल्लेख छ। यस अभियोग पनि उनले अस्वीकार गर्दै उक्त रकम आफै प्रमुख कार्यकारी रहेको सूर्यदर्शन फाइनान्ससँग सम्बन्धित रहेको दाबी गरेका छन्।
सूर्यदर्शन फाइनान्स कम्पनी अन्नपूर्ण विकास बैंकसँग मर्ज भई सुप्रिम डेभलपमेण्ट बैंक बनेको र पछि एनसीसी हुँदै हाल कुमारी बैंकको रुपमा सञ्चालनमा आएको पनि उनले अदालतमा बयान दिएका छन्। अभियोग पत्रमा उल्लेखित उक्त रकम सूर्यदर्शन सहकारीबाट नभएको दाबी गरेका उनले सूर्यदर्शन फाइनान्समा कहाँबाट आयो भन्नेबारे भने खुलाएका छैनन्।
बमजनले सूर्यदर्शन सहकारीबाट नारायणी फाइनान्समा रहेको आफ्नो खातामा ४ लाख २५ हजार रुपैयाँ लगेको पनि अभियोग पत्रमा उल्लेख छ। बमजनले यो अभियोग पनि अस्वीकार गरेका छन्। नारायणी फाइनान्स मर्ज भएर लक्ष्मी सनराइज बैंक बनेको र बैंकमा रहेको आफ्नो बचत खातामा २ हजार रुपैयाँ मात्र रहेको बमजनले बयानमा बताएका छन्।
अभियोग लागेको ८ महिनापछि अदालत उपस्थित भएका बमजनले आफू सहकारीको अध्यक्ष रहँदा सहकारी राम्रोसँग चलेको र शेयर धनिलाई राम्रो लाभांश वितरण गरेको पनि दाबी गरेका छन्। सहकारीको अध्यक्षमा आफ्नो कार्यकाल सकिएपछि भएका कारेबारको दायित्व र जिम्मेवारी आफूले लिन नपर्ने पनि इजलासमा बताएका छन्।
अभियोग पत्रमा सूर्यदर्शन सहकारीबाट पेशल कुमार राईको खातामा गएको २ लाख ७० हजार रुपैयाँ बमजानको खातमा स्थानान्तरण गरेको, काठमाडौंको कल्याण उपकार सेभिङको नाममा २६ लाख ७७ हजार ४०९ रुपैया भुक्तानी दिएको, सहकारीका सचिव सूर्यध्वज न्यौपानेको खाता गएको ८ लाख मध्य ५ लाख बमजनको खातामा ट्रान्सफर भएको लगायत देखिएको अभियोग पत्रमा उल्लेख छ। यी सवालमा भने बमजनले जबाफ दिएका छैनन्।
सहकारीको अध्यक्ष रहँदा आफूले मासिक भत्ता २० हजार रुपैया मात्र लिएको बताएका बमजनले अन्य कुनै पनि ऋण र आर्थिक लाभ नलिएको दाबी गरेका छन्।
‘अध्यक्षका रुपमा खटिँदा मासिक भत्ताका रुपमा २० हजार रुपैयाँ लिएको छु, अन्य कुनै किसिमको ऋण लगायत कुनै पनि किसिमको आर्थिक लाभ लिएको छैन,’ उनले बयानमा भनेका छन्।
बमजनले सहकारीमा भित्र्याएका बागलुङ बुर्तिर्बाङका देवकुमार नेपालीले बयानमा सहकारीबाट ऋण प्रवाह लगायत बचत अपचलनमा बमजन र उनका बहिनीज्वाइँ जिबी राई हाबी रहेको बयान दिएका थिए। सहकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा बैंक खाता सञ्चालन गर्न माग गर्दा उनीहरूले नमानेपछि द्वन्द्व भएको र आफू टिमसहित सूर्यदर्शन सहकारीबाट छुट्टिएर इमेज सहकारी खोलेको नेपालीको बयानमा छ।
नेपालीले पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए। ढोरपाटन नगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित नेपाली यी दुई सहकारीबाट २ अर्ब अपचलन आरोपमा अहिले बागलुङ कारागारमा छन्।
पोखराका सौन्दर्य व्यवसायी मीना गुरूङ र आरती गुरूङको सहयोग लिएर सूर्यदर्शन सहकारी खोलेका बमजन भने आइतबार नै जिल्ला अदालतले धरौटीमा छाडेको छ। जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले बमजनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
सहकारी पीडितहरूले भने बमजन अदालतमा हाजिर भएकै दिन धरौटीमा छोडिनु र बहसमा आफूहरूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। सूर्यदर्शन सहकारी ठगीका मुख्य अभियुक्त मानिएका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईबारे जेठान बमजनसँग सोधपुछ र अनुसन्धान गर्न उनीहरूले माग गरेका छन्।
सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारी पीडितको बचत पिर्ता गर्न र अभियुक्तहरू पक्राउ गर्न सरकारले चासो नदेखाएको आरोप लगाए। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएपछि सरकार निदाएको उनको आरोप छ।
‘सरकारले छिटो भन्दा छिटो अभियुक्तहरूलाई पक्राउ गरोस् र सहकारी पीडितको बचत फिर्ता गरोस्,’ उनले भने, ‘जिबी राईलाई सहकारीको अध्यक्ष बनाउने जेठानसँग उनको बारेमा सोधपुछ र अनुसन्धान गरियोस्।’