भ्रष्टाचारविरूद्ध जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका ११ वटा जिल्ला र ८५ वटा स्थानीय तहमध्ये सबभन्दा धेरै पोखरामा भएको छ।
पोखरामा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सबै मन्त्रालयहरू, उच्च अदालत पोखरा, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित प्रहरी बिटहरू लगायत सम्पूर्ण सरकारी संरचना ध्वस्त भएका छन्। प्रदर्शनकारीले केही निजी र व्यावसायिक भवनहरू पनि जलाएर नष्ट पारेका छन्।
प्रदर्शनका क्रममा पोखरामा गोली लागेर ४ जना घाइते भएका छन् भने प्रदर्शनकारीले लगाएको आगोमा जलेर २ जना महिलाको मृत्यु भएको छ।
यस्तै, एक जना प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालयमा आगो लगाउँदै गर्दा जलेर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको छ। प्रदर्शनकारीको आक्रमणमा परी २३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कास्कीका सिडिओ रूद्रादेवी शर्माका अनुसार सबै कार्यालय प्रमुखहरूले कार्यालयमा भएको सम्पूर्ण क्षतिको विवरण गुगल सिटमा भरेर पठाउन निर्देशन दिएकी छन्।
‘कार्यालय प्रमुखहरूलाई सरकारी कार्यालयहरूमा भएको पूर्ण क्षति, आंशिक क्षति लगायत सम्पूर्ण विवरण गुगल सिटमा भरेर दिन निर्देशन दिएको छु,’ उनले भनिन्, ‘अन्य निजी, व्यावसायिक र सार्वजनिक संस्थाहरूमा भएका क्षतिको पनि प्रहरीले मुचुल्का तयार पारेको छ।’
क्षतिग्रस्त संरचना भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने अदालत, प्रशासन, प्रहरी लगायतका कार्यालयहरूबाट अत्यावश्यक सेवा सुरू भइसकेका छन् भने बाँकी कार्यालयहरू पनि सुरू गर्न तयारी गरिरहेको सिडिओ शर्माले बताइन्।
गण्डकी प्रदेशमा कास्कीपछि नवलपुरमा धेरै क्षति भएको छ। नवलपुरका सिडिओ भविश्वर पाण्डेका अनुसार, नवलपुरको सामाजिक विकास कार्यालय, जिल्ला ट्राफिक प्रहरीको कार्यालय, प्रहरी बिटहरू, स्थानीय तहका कार्यालय, वडा कार्यालय, राजनीतिक दलका जिल्लादेखि वडा तहसम्मका गरी १६ वटा कार्यालय जलेका छन्। नवलपुरमा रहेको मौलाकालिका केवलकार र एउटा सुनचाँदी पसलमा पनि तोडफोड र आगजनी भएको सिडिओ पाण्डेले जानकारी दिए।
नवलपुरमा प्रदर्शनकारीले ५३ वटा भवनहरूमा तोडफोड र आगजनी गरेका थिए भने ३५ वटा सवारी साधन जलाएका छन्। स्थानीय राजनीतिकर्मीसहित २० जनाको घर जलाएको र २ वटा व्यवसायमाथि आक्रमण भएका थिए।
सिडिओ पाण्डेका अनुसार नवलपुरका अन्य सरकारी कार्यालयहरू भने जोगिएका छन्। जिल्ला अदालतदेखि सिडिओ कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी कार्यालयहरू जोडिएको सिडिओ पाण्डेले बताए।
प्रदर्शनकारीले तनहुँमा पनि सरकारी एव निजी संरचनामा आक्रमण गरेका थिए। तनहुँका सिडिओ रामकृष्ण अधिकारीका अनुसार जिल्लाका केही सरकारी कार्यालय र करिब ५० वटा गाडी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए।
तनहुँमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेर जिल्ला अदालतको प्रशासनिक भवन पूर्ण रूपमा क्षतिग्रस्त बनाएका छन्। यस्तै, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, व्यास नगरपालिका र वडा कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको सिडिओ अधिकारीले बताए।
प्रदर्शनकारीले तनहुँ कारागार तोडफोड गरेर ३२७ जना कैदीबन्दी भगाएका थिए। यसमध्ये हालसम्म ११५ जना कैदीबन्दीलाई फर्काइएको छ। बाँकीलाई पनि फर्किन आह्वान गरेको र कतिपयलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा पूर्ण रूपमा क्षति भएकाले अहिले गाडी पार्किङ गर्ने स्थानबाट अत्यावश्यक सेवा दिएको सिडिओ अधिकारीले बताए। कार्यालयबाट नागरिकता वितरणको तयारी थालिएको भन्दै उनले पासपोर्ट र राष्ट्रिय परिचय पत्र वितरण गर्न आवश्यक सफ्टवेयर भएको कम्प्युटर लगायत सामग्री जलेकाले केही दिन लाग्ने बताए।
यस्तै, पर्वतमा पनि प्रदर्शनकारीले तोडफोडका साथै कारागारमा आक्रमण गरी कैदीबन्दी भगाउन सफल भएका थिए। पर्वतमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। पर्वतका सिडिओ हरिप्रसाद घिमिरेका अनुसार, प्रदर्शनकारीले मोदी गाउँपालिकाको कार्यालय र एमाले नेता पदम गिरीको घरमा पनि तोडफोड गरेका छन्।
सिडिओ घिमिरेका अनुसार, पर्वतमा रहेका अन्य सरकारी कार्यालयहरू भने सुरक्षित रहेका छन्।
‘पर्वतमा राजनीतिक दलका कार्यालयहरू, सांसद पदम गिरीको घर र मोदी गाउँपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएका छन्,’ उनले भने, ‘जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरू भने सुरक्षित रहेका छन्।’
बागलुङका सिडिओ कुमानसिँह गुरूङका अनुसार जिल्लामा रहेका सरकारी कार्यालयहरू पनि सुरक्षित रहेका छन्।
बागलुङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यालयमा रहेका कागजपत्र र बागलुङ नगरपालिका वडा नम्बर– १२ को कागजपत्र प्रदर्शनकारीले जलाइदिएका छन्। प्रदर्शनकारीको आक्रमण, तोडफोड र आगजनी बागलुङमा नभएको सिडिओ गुरूङले बताए।
यता, म्याग्दीमा रहेका मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यालयमा रहेका कागजपत्र र कम्प्युटर प्रदर्शनकारीले जलाइदिएका छन्। कार्यालयभित्र घुसेर प्रदर्शनकारीले कम्प्युटर र कागजपत्र बाहिर लगेर जलाएका हुन्।
म्याग्दीका सिडिओ बद्री तिवारीका अनुसार, प्रदर्शनकारीले जिल्ला कारागारबाट ७६ जना कैदीबन्दी भगाउन सफल भएका थिए। यसमध्ये ५२ जना फर्किसकेका छन् भने बाँकीको पनि खोजतलास भइरहेको सिडिओ तिवारीले बताए।
स्याङ्जामा प्रदर्शनकारीले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड डरेका छन् भने पुतलीबजारको ट्राफिक चोकमा रहेको नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको शालिकमा पनि तोडफोड प्रयास गरेका थिए।
जिल्लामा अरू सरकारी, सार्वजनिक र निजी तथा व्यावसायिक भवन एवं कार्यालयमा तोडफोड र आगजनीका घटना नभएको सिडिओ इश्वरीप्रसाद अर्यालले बताए। जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई भाग्न नदिन पनि उनीहरूलाई पहिल्यै गएर सम्झाएको सिडिओ अर्यालले बताए।
‘स्याङ्जामा सरकारी कार्यालयमा कुनै क्षति भएका छैनन्, कैदीबन्दी भाग्छन् भनेर हामी पहिल्यै कारागार गएर सम्झाएका थियौं,’ उनले भने।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यले पनि प्रदर्शनकारीको आक्रमण, तोडफोड र आगजनीले सबैभन्दा ठूलो क्षति पोखरामा भएको बताए। त्यसपछि, नवलपुर र तनहुँमा भए पनि बाँकी जिल्लामा यस्ता अप्रिय घटना नभएको बताए।
‘गण्डकी प्रदेशमा सबैभन्दा दुखदायी पोखरामा भयो, त्यसपछि नवलपुर र तनहुँमा तोडफोड र आगजनी भएका छन्,’ उनले भने, बाँकी जिल्लामा यस्तो क्षति छैन।’
गण्डकी प्रदेशमा कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, लमजुङ, गोरखा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ गरी ११ वटा जिल्ला छन्।