ओभरीमा कुनै समस्या देखियो भने त्यसलाई पोलिसिस्टिक ओभेरियन डिजिज (पिसिओडी) भनिन्छ। यो हर्मोनको कारण हुने समस्या हो। पिसिओडी वा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) भन्नासाथ धेरै मानिस डराउँछन्। हुन त यो एउटा यस्तो रोग हो, जसलाई पूर्ण रूपमा निको पार्न सकिँदैन। साथै यसलाई धेरै उपचार गर्न पनि जरूरी छैन।
सुन्दा अचम्म लाग्न सक्छ, पिसिओडीको बेफाइदासँगै कहिलेकाहीँ फाइदा पनि हुन सक्छ।
पिसिओडी मुख्य गरेर १८ वर्षदेखि ३५ वर्षसम्मका महिलालाई हुन सक्छ।
पिसिओडी भएकाहरूमा अण्डाको मात्रा धेरै हुन्छ, तर ओभुलेसनमा समस्या हुन्छ। जसले गर्दा महिनावारी नियमित हुँदैन।
पिसिओडी भएकाहरू कहिले २, कहिले ३ अनि कहिले योभन्दा धेरै समयसम्म महिनावारी भएन भनेर आउँछन्। पुरूषमा हुने एन्ड्रोजन हर्मोन बढ्ने कारणले अनुहारमा रौं आउने, डन्डिफोर धेरै आउने हुन्छ। अनि पेटको भागमा मोटोपना धेरै हुने पनि हुन्छ।
प्रायः यस्ता बिरामी मोटा हुन्छन्। जति मोटाउँछ, त्यति एन्ड्रोजन बढी हुन्छ अनि त्यति नै महिनावारी अनियमित हुन्छ। यस्तो हुँदै जाँदा लक्षण पनि झन् बढ्दै जान्छ।
यस्ता बिरामीलाई मधुमेह हुने खतरा हुन्छ र यसले थप मोटोपना बढाउँछ।
यस्तो बेला बिरामीमा देखिने केही प्रमुख लक्षण:
-महिनावारीको अनियमितता
-अनुहारमा रौं आउने
-मोटोपना धेरै हुनु
-गर्भ नरहने समस्या
यसको उपचार गर्ने कुनै विशेष विधि छैन। यसलाई सामान्य तरिकाले उपचार गर्न सकिन्छ।
पहिलो भनेको जीवनशैली परिवर्तन हो। व्यायाम गर्ने, तौल घटाउने आवश्यक हुन्छ। व्यवस्थित जीवनशैलीले यो रोग आफै कम हुँदै जान्छ। १० देखि १५ प्रतिशत तौल घटाउनासाथ ओभुलेसन पनि हुन थाल्छ अनि बिरामीलाई राम्रो पनि हुन्छ। त्यसैले सुरूमा औषधितिर जानु हुँदैन।
तर कसैले गर्भको योजना बनाउँदा पनि गर्भ रहन सकेको छैन भने त्यस्ता बिरामीका लागि उपचार फरक हुन्छ।
१८ देखि २४ वर्षसम्मका कतिपय युवती यस्ता समस्या लिएर आउँछन्।
-मेरो २ महिना, ४ महिना, ६ महिनासम्म महिनावारी हुँदैन
-मेरो डन्डिफोर धेरै छ।
-कपाल झरिरहेको छ, के गर्ने?
पिसिओडी भएको बेला शरीरमा इन्सुलिन हुन्छ तर राम्रोसँग काम गर्दैन।
व्यायाम गर्ने, कार्बोहाइड्रेट कम गर्ने र तौल घटाउने हो भने पिसिओडी आफै कम हुँदै जान्छ। राम्रो डर्माटोलोजिस्टसँग काउन्सिलिङ गरेमा डन्डिफोर लगायतका समस्या समाधान हुन्छन्।
अर्को, अनियमित महिनावारीका लागि पिल्स दिइन्छ, तर यसले झन् मोटोपना बढाउन सक्छ। पिल्स औषधि खाएपछि तौल घटाउन झन् गाह्रो हुन्छ। त्यसैले पिल्सका लागि खासै सिफारिस गरिँदैन। कहिलेकाहीँ तीन महिनासम्म पनि महिनावारी भएन भने मात्र चिकित्सकको सल्लाह अनुसार औषधि खान सकिन्छ।
डर्माटोलोजिस्टले तपाईंको छाला सम्बन्धी समस्या समाधान गर्न सक्छन्। जीवनशैलीको परिवर्तनले स्वास्थ्यमा सुधार हुँदै जान्छ।
के पिसिओडीले फाइदा पनि गर्छ?
पिसिओडीको एउटा फाइदा के हो भने लामो समयसम्म अण्डा रहिरहन्छ। त्यसैले गर्भ रहने सम्भावना पनि लामो समयसम्म रहन सक्छ।
अण्डा धेरै भएकै कारणले आइभिएफमा जान पनि पिसिओडी भएकाहरूलाई सजिलो हुन्छ।
यदि तपाईंले सन्तुलित जीवनशैलीमा ध्यान दिनुभएन भने मोटोपना बढ्दै जान्छ। आफूलाई हेरचाह नगरेमा दीर्घकालमा टाइप २ डायबिटिज हुने सम्भावना धेरै हुन्छ। किनकि मोटोपनाका कारण कोलेस्ट्रोल बढ्छ र मुटु सम्बन्धी समस्या देखिन सक्छ। उच्च रक्तचापको सम्भावना पनि हुन्छ।
तर यसो भन्दैमा यो यस्तो रोग हो, जसलाई तपाईंले आफ्नै हेरचाहबाट नियन्त्रण गर्न सक्नुहुन्छ।
तपाईंलाई बच्चा नचाहिएको अवस्थामा यसको उपचारभन्दा पनि शरीरलाई सन्तुलनमा राख्नु नै उत्तम उपाय हो। तर गर्भ रहनुपर्ने अवस्था भएमा उपचारसँगै शरीरको सन्तुलन जरूरी हुन्छ। यदि कसैले तौल घटाउन सकेन भने काउन्सिलिङसँगै उपचार पनि आवश्यक पर्छ।
पिसिओडी मोटो वा दुब्लो, जसलाई पनि हुन सक्छ। यसको स्पष्ट कारण पनि थाहा छैन, त्यसैले जुनसुकै समयमा पनि हुन सक्छ।
(वरिष्ठ प्रसूति तथा स्त्री रोग एवम् टेष्ट ट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्।)