सिन्धुलीमा प्रहरी हिरासतमै एक युवकको मृत्यु भएपछि उनका आफन्त चार दिनदेखि आन्दोलित छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए।
उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी सुवेदीले बताए।
आफन्तहरूले भने हिरासतमा प्रहरीको कुटपिटबाट श्रीकृष्णको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरू चार दिनदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आएका छन्।
छानबिनको माग गर्दै शव बुझ्न नमानेपछि वैशाख ८ गते नै छानबिन समिति गठन भइसकेको छ। आफूहरू घटनाबारे छानबिन गरिरहेको र प्रक्रियामा रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए।
'यस घटनामा हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। छानबिनपछि तथ्य बाहिर आउँछ,' उनले भने।
श्रीकृष्ण वैशाख ३ गते ललितपुरमा पक्राउ परेका थिए। उनीमाथि १७ वर्षीया बालिका बलात्कारको आरोप थियो। ती बालिका र श्रीकृष्णले भने प्रेम विवाह गरेको परिवारको भनाइ छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार जाहेरीअनुसार घटनास्थल खुर्कोट भएकाले थप अनुसन्धान प्रक्रियाका लागि सिन्धुली प्रहरीसँग समन्वय गरेर श्रीकृष्णलाई त्यता पठाइएको थियो।
'हामीले जाहेरी दर्ता भएपछि पक्राउ गरेर सक्कली जाहेरीसहित आरोपितलाई ४ गते नै खुर्कोट पठाएका हौं,' उनले भने, 'त्यसपछि के भयो हामीलाई थाहा छैन।'
४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखेको थियो।
श्रीकृष्णको परिवार र आफन्तको भनाइ भने फरक छ।
उनीहरूले अन्तरजातीय विवाह गरेकै कारण श्रीकृष्णमाथि बलात्कार आरोप लगाइएको बताएको दाबी गरेका छन्। र नियोजित रूपमा कुटपिट गरेर मारेको आरोप लगाएका छन्।
श्रीकृष्णसँगै ललितपुरमा बस्दै आएका उनका भाइ उमेशसँग पनि घटनाबारे कुरा गरेका छौं—
उमेशका अनुसार श्रीकृष्ण ड्राइभर पेसा गर्दै आएका थिए। खोटाङकी किशोरी पनि उनीहरूको डेरा नजिकै बस्थिन्। सोही क्रममा श्रीकृष्ण र किशोरीबीच प्रेम बसेको थियो। दुई वर्षदेखिको प्रेम सम्बन्धपछि उनीहरूले चैत २८ गते विवाह गरेका थिए।
'विवाह गरेँ भनेर उहाँले २८ गते डेरामा ल्याउनुभएको थियो,' उमेशले भने।
त्यसको २ दिनमै उनीहरू सिन्धुलीस्थित घर गएका थिए।
'परिवारसँग पनि उहाँ (किशोरी)ले राजीखुशीले आएको बताउनुभएको थियो,' उमेशले भने।
उमेशकै अनुसार ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटीपक्षले कुरा गर्न खोजेको छ भनेर पटकपटक फोन आएपछि उनीहरू ३ गते फर्किएका थिए।
उनीहरू दिउँसै काठमाडौं आइपुगेका थिए। प्रहरीले ५ बजेतिर आउनू भनेको उमेश बताउँछन्।
'हामी कार्यालय पुग्दा किशोरीको परिवार पनि त्यहाँ आउनु भएको थियो,' उनले भने,'प्रहरीले सोधपुछ गर्यो। किशोरीले आफ्नो खुशीले गएको भन्नुभयो।'
उनका अनुसार सुरूवातमा प्रहरीले बालबिवाह कसुरमा श्रीकृष्णमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेपछि त्यसो नगर्न किशोरीले आग्रह गरेकी थिइन्। पछि प्रहरीले नै कानुनले तोकेको उमेर पूरा नभएकाले तत्कालका लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्न भनेको उमेश बताउँछन्।
झन्डै २ घन्टा छलफल भएको थियो। २ वर्षका लागि अलग हुँदा दाइलाई मुद्दा नचल्ने भएपछि किशोरी पनि राजी हुनुभयो,' उनले भने।
तर किशोरीको काका आइपुगेपछि घटनाले अर्कै मोड लिएको उमेशको भनाइ छ। उनी त्यसै छाड्न हुन्न भन्दै कराउँदै आएको र प्रहरीसँग कुरा गरेको उनले बताए। उनी आएपछि प्रहरीले आफूहरूलाई पनि भित्र जान नदिएको उमेश बताउँछन्।
दुवै पक्षबीच सहमति भइसकेपछि राती साढे ९ भएपछि प्रहरीले श्रीकृष्णलाई तत्काल छाड्न नमिल्ने भन्यो। र आफूलाई भोलिपल्ट ९ बजे आउनू भनेर फर्काइदिएको उमेश बताउँछन्।
'दाइलाई सातदोबाटो प्रहरी कार्यालयमा राखेको जानकारी आफन्तहरूलाई गराएपछि भोलिपल्ट ८ बजे हामी सातदोबाटो प्रहरी कार्यालय पुग्यौं,' उमेशले भने, 'हामी पुग्दा प्रहरीले दाजुलाई खुर्कोट पठायौं भन्नुभयो।'
त्यसपछि किशोरीलाई सम्पर्क गर्न खोजेपनि उनको फोन लागेन। आफन्तहरूसहित आफू त्यहीदिन गाउँ फर्किएको उनी बताउँछन्।
'खुर्कोट आएर बुझ्दा पो दाजुलाई बलात्कार आरोप लागेको थाहा भयो,' उनले भने।
त्यसपछि आफूले किशोरीसँग पनि कुराकानी गरेको उनले बताए। 'त्यतिबेला दाजुलाई प्रहरीलाई नियन्त्रणमा लियो भन्दा उहाँ पनि छक्क पर्नुभो। उहाँलाई दाइ छुट्नुभयो भनिएको रहेछ।'
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी मिश्रले जाहेरी अनुसार नै प्रक्रिया अगाडि बढाइएको बताए।
'नाबालिगले आफूमाथि बलात्कार भएको जाहेरी दिएपछि उसले विवाह गरेको हो कि होइन भनेर प्रहरीले हेर्दैन,' उनले भने।
खुर्कोट प्रहरीले पक्राउ गरेदेखि नै आफूहरूको केही पनि कुरा नसुनेको उनी बताउँछन्।
'त्यसैले उनीमाथि कुटपिट भयो भन्ने हाम्रो धारणा हो। होइन भने झुण्डिएर मृत भेटिएको ठाउँको सिसिटिभी भिडओ सार्वजनिक गर् भन्ने हाम्रो माग हो,' उनले भने।
उनका परिवारले शवको पोस्टमर्टम गर्न नमानेपछि जिल्ला प्रशासन कार्यालय सहायका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको छ।
घटना सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पनि आफू सिन्धुली जान लागेको बताएका छन्।