कीर्तिपुरको होल्डिङ सेन्टर भरिएपछि सुकुम्बासीहरूलाई होटलमा राखिने भएको छ।
घरबिहीन भनेर सम्पर्कमा आएका सुकुम्बासीहरूलाई दिउँसोदेखि नै कीर्तिपुरस्थित सत्सङ भवनमा पठाइएको थियो।
त्यहाँ ठाउँ भरिएपछि बाँकीलाई होटलमा राख्न लागिएको काठमाडौं महानगर प्रहरी बलका डिएसपी पूर्णचन्द्र भट्टले जानकारी दिए।
उनका अनुसार सुकुम्बासीहरूलाई राख्नका लागि माछापोखरी र नयाँ बसपार्कका होटलहरू बुक गरिएको छ।
'होटल व्यवसायीहरूले व्यवस्थापन गरिदिने भएपछि त्यतै राख्न लागिएको हो,' उनले भने।
डिएसपी भट्टका अनुसार नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरूमा ७० वटा कोठा बुक गरिएको छ।
थापाथली र सिनामंगल क्षेत्रबाट अहिलेसम्म १२३ परिवारका ५६४ जनाको विवरण संकलन भइसकेको छ।
विवरण संकलनका लागि महानगरले दशरथ रंगशालामा स्क्रिनिङ सेन्टर बनाएको छ। विवरण टिपाउनका लागि अझै मानिसहरूको आउने क्रम जारी छ।
रंगशालामै रहेका डिएसपी भट्टले केहीलाई होटलमा राखिने बताएका हुन्।
विवरण संकलनमा खटिएका अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाका अनुसार साँझ साढे ६ बजेसम्म १२३ परिवारको ५६४ जनाको विवरण संकलन भएको थियो।
तीमध्ये गैरीगाउँका २२ परिवार, सिनामंगलका ८ र शान्तिनगरका ५ परिवार छन्। बाँकी थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकाहरू रहेको उनले बताए।
तीमध्ये ३१ परिवारलाई कीर्तिपुर पठाइसकिएको छ।
दिउँसै विवरण टिपाउन गएका केही परिवार आफैले कोठा खोजेको भनेर नाम टिपाएर फर्केका थिए।
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम शाहले वास्तविक सुकुम्बासीको पहिचानपछि उनीहरूलाई दुई सातामै नागार्जुन नगरपालिकामा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने बताएका छन्।
उनका अनुसार हाल बस्ती खाली गरिएका क्षेत्रका परिवारहरू व्यवस्थापन अस्थायी हो।
होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रक्रिया भने भोलिबाटै सुरू गरिने उनले बताएका छन्।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राखेर उनीहरूको दीर्घकालीन व्यवस्थापन प्रक्रिया अघि बढाइने शाहले बताएका छन्।