पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि भालुवाङ हुँदै पश्चिम लमहीसम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम बुधबारदेखि भौतिक रूपमा सुरू भएको छ।
यो सडकखण्ड नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को लगानीमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सडक मर्मत आयोजनाको औपचारिक सुरूआत हो। भ्याटबाहेक दुई करोडभन्दा बढी अमेरिकी डलर, अर्थात् तीन अर्बभन्दा बढी नेपाली रुपैयाँको लागतमा सडक स्तरोन्नतिको काम सुरू गरिएको हो।
नेपालमै पहिलो पटक ‘फुल डेप्थ रिक्लेमेसन’ (एफडीआर) र ‘सुपरपेभ’ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी सडक निर्माण गर्न थालिएको छ। यसका लागि आवश्यक एफडिआर मेसिन पनि पहिलो पटक नेपालमा ल्याइँदैछ, जुन हालसम्म देशभित्र उपलब्ध छैन। निर्माण कम्पनीका अनुसार उक्त मेसिन एक महिनाभित्र भारतबाट दाङ आइपुग्नेछ।
यस प्रविधिले पुराना सामग्री पुनः प्रयोग गर्न सकिने, सडकलाई अझ बलियो र टिकाउ बनाउने तथा वातावरणमैत्री हुने बताइएको छ। नयाँ प्रविधिको प्रयोगले दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।
आयोजनाअन्तर्गत सडकको दुवैतर्फ ७ मिटर चौडा क्यारिज–वे र साढे दुई–दुई मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ। सम्झौता भएको मितिदेखि २४ महिनाभित्र अर्थात दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ। गत पुस ७ गते एमसीए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो।
धानखोला–लमही सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो। प्रतिस्पर्धाबाट छनोट भएको शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम (शर्मा–कुमार जेभी) ले निर्माणको जिम्मा पाएको छ।
शर्मा कन्स्ट्रक्सनले लुम्बिनी प्रदेशको राजधानीका भवनहरू निर्माण गर्नुका साथै बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरेको छ। साथै नेपालगञ्ज–गुलरिया सडक खण्ड पनि निर्माण गरेको अनुभव छ, जहाँ उसले जिम्मा लिएका अधिकांश काम समयअघि नै सम्पन्न गरेको इतिहास रहेको छ।
यस सडक निर्माणका लागि दैनिक करिब २५० जनशक्ति खटिनेछन्। सवारी साधन तथा उपकरण गरी एक दर्जनभन्दा बढी उपकरण तत्काल प्रयोगमा ल्याइनेछन्। निर्माण पक्षले धानखोला, भालुवाङ र लमही गरी तीन स्थानबाट एकैसाथ काम सुरू गर्ने जनाएको छ।
सडक निर्माणका क्रममा एकैपटक सम्पूर्ण कालोपत्रे भत्काइने छैन।
ट्राफिक व्यवस्थापन तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सुरुमा आधा सडक मात्रै भत्काइनेछ। सो भागको स्तरोन्नति सम्पन्न भएपछि मात्रै अर्को लेनमा काम सुरू गरिनेछ।
एमसिए–नेपाल अन्तर्गत सडक सुधार आयोजनाका आयोजना प्रमुख रोहित शर्मा आचार्यले समयमै गुणस्तरीय काम सम्पन्न हुने विश्वास व्यक्त गरे। सडक खण्डमा रहेका र काट्नुपर्ने रुखका लागि वन कार्यालयसँग तथा विद्युत् पोल स्थानान्तरणका लागि विद्युत् कार्यालयसँग समन्वय भइसकेको उनले जानकारी दिए।
बालुवा–गिट्टीको सहज आपूर्तिका लागि स्थानीय तहसँग पनि छलफल भइसकेको र निर्माण कार्यमा स्थानीय सरकार तथा बासिन्दाको सहयोग अत्यावश्यक रहने उनले बताए।
(धानखोला–लमही सडक स्तरोन्नतिको काम कसरी हुन्छ? भन्ने बारे हामीले प्रोजेक्ट म्यानेजर आचार्यसँग सोधेका छौं। (भिडिओ)