रोल्पामा जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव संकलन कार्य जारी छ।
मृतक २० जनाको शव प्रहरीले रातभर एकै ठाउँमा ८०० मिटरमुनि जम्मा गरी पहरा दिएको थियो।
निकै अप्ठ्यारो भूगोलका कारण रातभर शवहरूको पहरा दिएर बसेको प्रहरीले बिहानैदेखि शवमाथि ल्याउने कार्य जारी राखेको छ। बिहान ११ बजेसम्म १५ वटा शवहरू माथि बाटोमा ल्याइएको छ।
सशस्त्र प्रहरी, प्रहरीले ९ वटा शवहरू आफैले बोकेर माथि बाटोसम्म ल्याएको घटनास्थलबाट थवाङका गोविन सहयात्रीले सेतोपाटीलाई बताए।
थप ६ वटा शवहरू सुरक्षाकर्मीले डोरीमा झुण्ड्याएर तान्दै माथि बाटोसम्म ल्याएका थिए। अझै थप पाँच वटा शव माथि बाटोसम्म ल्याउन कम्तीमा पनि एक घन्टा लाग्ने अनुमान गरिएको छ।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले शवहरूमाथि ल्याउने कार्य सकिएपछि पोष्टमर्टमका लागि सम्बन्धित जिल्लाहरूमा पठाउने तयारी गरिएको बताए।
घटनास्थलबाट रोल्पा जिल्ला अस्पताल लिवाङ झन्डै सात घन्टा टाढाको दुरीमा पर्छ भने रूकुम पूर्वबाट जम्मा दुईदेखि साढे दुई घन्टाको दुरीमा पर्छ।
प्रहरीका अनुसार मृतकहरूलाई आफन्तको राय सुझाव अनुसार सम्बन्धित जिल्लामै पोष्टमर्टमका लागि पठाउने तयारी गरिएको छ।
दुर्घटनापछि बिहीबार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पनि उद्धारमा खटिएका थिए।
शुक्रबार बिहानदेखि इलाका प्रहरी कार्यालय थवाङ, जिल्ला प्रहरी कार्यालय लिवाङ, जिल्लास्थित सशस्त्र प्रहरीको युनिट, रूकुम पूर्व जिल्लाबाट खटिएको प्रहरी र स्थानीय समेत गरी बिहानदेखि झन्डै एक सय जना शवको उद्धारमा खटिएका छन्।
रोल्पाका प्रहरी प्रमुख दुर्घटना पछि राति घटनास्थल पुगेका थिए।
काठमाडौंबाट फर्किएलगत्तै प्रमुख जिल्ला अधिकारी घटनास्थल जान बाटोमा यात्रारत छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङबाट छानबिन समितिका लागि गठित टोली पनि घटनास्थल पुग्दैछ।
घटनास्थलमा कसैसँग फोन सम्पर्क नभएको रोल्पाका प्रहरी प्रवक्ता नेपालीले बताए।
बिहीबार दिउँसो पौने ३ बजे थवाङ गाउँपालिका–१ सल्यापमा लु १ ज ४१६७ नम्बरको जिप सडकबाट झन्डै ८०० मिटर तल खस्दा २० जनाको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरू सबै शुक्रबार पूर्णिमाको दिन जलजलामा लाग्ने विशेष महत्वको धार्मिक मेलामा सहभागी हुन जाँदै गरेकाहरू थिए।
त्यो भयानक दुर्घटनामा परी एक जना मात्रै बाँच्न सफल भएका थिए। रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी मात्रै भाग्यले जोगिएका थिए। छतमा बसेका उनी गाडीसँगै खसे पनि रूखको जरा समातेर ज्यान जोगाउन सफल भएका थिए। समिरले सानो कच्ची र उकालो बाटोमा गाडीले तान्न नसकेर ब्याक भएपछि भीरबाट खसेको रूकुम पूर्व प्रहरी समक्ष बयान गरेका छन्।
समिरका अनुसार उनकी आमा र भिनाजूको पनि दुर्घटनामा परी मृत्यु भएको छ।