बुद्ध पूर्णिमाका दिन रोल्पाको जलजला क्षेत्रमा ठूलो मेला लाग्छ।
रूकुम पूर्वको सिस्ने गाउँपालिका- ५ टाकुराका दीपक बिसीका परिवार जलजलाको मेलामा सहभागी हुन बिहीबार नै घरबाट हिँडेका थिए।
दीपक अमेरिका बस्छन्। श्रीमती युवा विसी र छोरा दिव्यनलाई उनले अमेरिका बोलाएका थिए। उनीहरू हप्ता दस दिनमै अमेरिका उड्ने सबै तयारी भइसकेको थियो।
उनीहरू अमेरिका उड्नुअघि जलजलाको मन्दिरमा पूजा र भाकल गर्ने सल्लाह भयो। त्यहाँ भाकल र पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
युवाको घर र माइतीका गरी १५ जना जलजला जाने टुंगो भयो।
उनीहरू लु १ ज ४१६७ नम्बरको जिप चढे। उनीहरूसहित २१ जना सवार जिप जलजलाका लागि मध्याह्नमा हिँड्यो।
दिउँसो ३ बजेतिर जिप रोल्पाको थवाङ गाउँँपालिका- १ सल्याप पुगेको थियो।
कच्ची बाटो भएकाले जिप डलपल हुँदै चलिरहेको थियो, एक्कासि सडकबाट खस्यो र गुल्टिँदै झन्डै ८०० मिटर तल पुगेर अडियो।
दुर्घटनामा २० जनाको घटनास्थलमै मृत्यु भयो। त्यसमा दीपकको घर र ससुरालीतर्फका आफन्ती परेका छन्।
दीपककी श्रीमती २८ वर्षीया युवा बिसी, उनका १० वर्षीय छोरा दिव्यन, ५३ वर्षीया आमा तिलकुमारी बिसी, भाइ २८ वर्षीय गोर्ख विसी, ४० बर्षीया अन्टी ओमकुमारी बुढाथोकी, ओमकुमारीकी छोरी २४ वर्षीया सृजना बुढाथोकी र ओमकुमारीका छोरा १३ वर्षीया सुदीप बुढाथोकीको पनि दुर्घटनामा परी मृत्यु भएको छ।
सोही दुर्घटनामा परी माइती पक्षका दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका युवा बिसीकी आमा ५० वर्षीया द्रोपती जिसी, बुबा यमबहादुर जिसी, युवाकी बहिनी २५ वर्षीया एलिसा जिसी, उनका ७ वर्षीय छोरा संयोग थापा, युवाकी भाउजू ३२ वर्षीया तिला जिसी, उनका छोरा जेनिस जिसी र छोरी १२ वर्षीया जेनिसा जिसीको दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा परी उनीहरूकी आफन्त घोराही–१२ गुर्जे बस्ने धनमाया बिष्टको पनि मृत्यु भएको छ।
दुर्घटनामा दाङको शान्तिनगर गाउँपालिका– ८ घर भई रूकुम पूर्वको सिस्ने गाउँपालिका– ५ बस्दै आएका चालक ४२ वर्षीय बेदु कामी, उनकी सासु सिस्ने –५ की ६० वर्षीया मीना कमिनी, सिस्ने – ५ की ६० वर्षीया लक्ष्मी शाह , सिस्ने–५ का २७ वर्षीया रुपमिना बस्नेत र भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ।
दुर्घटनामा ज्यान गुमाउने सबै दाङ र रुकुम पुर्वका हुन्। दुर्घटनामा परी ४ बालबालिका, ४ पुरुष र १२ महिला गरी कुल २० जनाको मृत्यु भएको हो।
त्यो भयानक दुर्घटनामा परी एक जना मात्रै बाँच्न सफल भएका थिए। रूकुम पूर्वको सिस्ने गाउँपालिका– ५ का ३२ वर्षीय समिर कामी मात्रै जोगिएका थिए। उनकी आमा ६० वर्षीया मीना कमिनी र भिनाजु बेदु कामीले सोही दुर्घटनामा मृत्युवरण गरे।
छतमा बसेका समिर गाडी संगै खसेपनि रुखको जरा समातेर ज्यान जोगाउन सफल भएका थिए। समिरले सानो कच्ची र उकालो बाटोमा गाडीले तान्न नसकेर ब्याक भएपछि भीरबाट खसेको रुकुम पूर्व प्रहरी समक्ष बयान गरेका छन् ।
बिहीबार राति दुर्घटनामा मृतक सबैको शव एकै ठाउँमा जम्मा गरी पहरामै राखिएको थियो। प्रहरीले रातभर त्यही कुरेर बसेको थियो। शुक्रबार बिहानै बाट सुरक्षाकर्मीले कतिपय शवहरु आफैले बोकेर र कतिपय शबहरु डोरीले बाँधेर तान्दै माथि बाटोसम्म पुर्याएका थिए। घटनास्थल अफ्ठ्यारो पहरा भएकाले सुरक्षाकर्मीले शुक्रबार मध्यानहः १२ बजेपटि मात्रै सबै शबहरु संकलन गरि माथि बाटोमा पुर्याउन सफल भएका थिए।
सनाखत भइ सकेपछि शबहरु पोष्टमार्टमका लागि रुकुम पूर्वको रुकुमकोट अस्पतालमा पुर्याइने भएको छ। पोष्टमर्टम पछिमात्रै शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।