लुम्बिनी प्रदेश सरकारले सोमबारदेखि आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरू गरेको छ।
दाङको राप्ती गाउँपालिका–३ मा मण्डला आकारका भव्य प्रशासनिक भवनहरू निर्माण गरिएका छन्। यो प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरू गरेका छन्।
यसअघि स्वास्थ्य मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अलग–अलग स्थानबाट सञ्चालन हुँदै आएका थिए। अब ती सबै मन्त्रालय पनि एकै परिसरबाट सञ्चालन हुने प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।
उनका अनुसार नयाँ भवनबाट सेवा सुरू हुनु संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण उपलब्धि हो।
प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १० वटा मन्त्रालयका भवन निर्माण सम्पन्न भएको छ। जो ३ अर्ब ९ करोड २९ लाख ३८ हजार ७२ रुपैयाँ लागतमा निर्माण गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेक अन्य ९ वटा मन्त्रालय भवन एउटै डिजाइनमा निर्माण गरिएका छन्।
मुख्यमन्त्री कार्यालयको भवन फरक संरचनामा बनाइएको छ। अन्डरग्राउन्ड पार्किङ सहित ६ तलाको मुख्यमन्त्री भवनमा सेतो रङ प्रयोग गरिएको छ भने अन्य ९ वटा भवन पाँच तलाका छन्। जसमा रातो र सेतो रङ प्रयोग गरिएको छ। प्रत्येक भवनमा अलग/अलग लिफ्टको व्यवस्था गरिएको छ। नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज, प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ।
लुम्बिनीको नयाँ प्रशासनिक भवन काठमाडौंस्थित शर्मा/सगुन जेभीले निर्माण गरेको हो। प्रशासनिक केन्द्रका लागि प्रदेश सरकारले २०७९ साल मंसिर २८ गते ठेक्का सम्झौता गरेको थियो। सोही वर्ष फागुन ३ गते स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको थियो।
लुम्बिनीको प्रमुख प्रशासनिक केन्द्र १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको छ। बिगतमा यो ठाउँ राप्ती प्राविधिक शिक्षाल संचालन गरिएको थियो। २०७९ मंसिर २८ गते प्रदेश सरकारले तत्कालीन शिक्षालयका भवनहरूबाटै मन्त्रालयको काम थालेको थियो।
मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट सोमबार दैनिक कामकाज सुरू गरेका हुन्।
त्यस क्रममा उनले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताएका थिए। जसलाई उनले प्रदेशबासीका लागि गौरवको विषय भएको चर्चा गरे।
‘सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी निर्माण, नामकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ,’ उनले भने, ‘यसले प्रदेशलाई थप उचाइमा पुर्याएको छ।’
समयमै आयोजना सम्पन्न गर्न सफल हुनु प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको उनले बताए।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गरेको भवनमा सबै मन्त्रालय सारिएको भन्दै खुसी साटे। यो अन्य प्रदेशका लागि सिकाइको उदाहरण भएको उनले बताए।
-1777892594.jpg)
-1777892594.jpg)
-1777892594.jpg)
-1777892593.jpg)
-1777892594.jpg)
-1777892595.jpg)
-1777892593.jpg)
-1777892593.jpg)
-1777892593.jpg)