रोल्पाको जलजलामा वैशाख १७ गते दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको सोमबार रूकुम पूर्वमा सामूहिक अन्त्येष्टि गरिएको छ।
सिस्ने गाउँपालिका–५ टाकुराका दीपक बुढाथोकी अमेरिकाबाट फर्किएपछि सोमबार उनकी श्रीमती २८ वर्षीया युवा बिसी, उनका १० वर्षीय छोरा दिब्यन, ५३ वर्षीया आमा तिलकुमारी बिसी, २८ वर्षीय भाइ गोर्खबहादुर बिसी, ४० वर्षीया अन्टी ओमकुमारी बिसी र उनका १३ वर्षीय छोरा सुदीप बिसीको सोमबार सिस्ने–६ धाउने बगरस्थित सानी भेरी नदी किनारमा सामूहिक अन्त्येष्टि गरिएको हो।
मृतकमध्ये दीपककी अन्टी ओमकुमारीकी छोरी २४ वर्षीया सुजना बुढाथोकीको सल्यानमा विवाह भएको हुँदा उनको शव अन्त्येष्टिको लागि सल्यान लगिएको थियो।
अमेरिकाबाट दीपक आइतबार राति मात्रै घर फर्किएका थिए।
रूकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार शनिबार सिस्ने–६ स्थित धाउने बगरमा दुई जनाको र अर्का एक जनाको भूमेका व्यक्तिको पनि अन्त्येष्टि गरिएको थियो।
सोही दुर्घटनामा परी ज्यान गुमाएका दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका दीपकी सासूआमा ५० वर्षीया द्रोपती जिसी, ससुरा बुबा यमबहादुर जिसी, उनीहरूकी बुहारी ३२ वर्षीया तिला जिसी, उनका छोरा जेनिस जिसी र छोरी १२ वर्षीया जेनिसा जिसीसहित ६ जनाको घोराहीस्थित बबई नदीमा आइतबार सामूहिक अन्येष्टि गरिएको थियो।
उनीहरूका एक आफन्त घोराही–१२ की गुर्जेकी धनमाया विष्टको पनि सोही दिन हापुरमा अन्त्येष्टि गरिएको दाङका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।
दीपककी साली लुमजुङमा विवाह भएकी २५ वर्षीया एलिसा घर्ती र उनका ७ वर्षीय छोरा संयोगको शव भने लमजुङ लगिएको थियो।
दुर्घटनामा ज्यान जुमाएकी दीपककी श्रीमती युवा र उनका छोरा दुर्घटनाको दश दिनपछि अमेरिका उड्ने अन्तिम तयारीमा थिए। अमेरिका जानुपूर्व युवाकै आग्रहमा माइती र घर परिवार मिलेर वैशाख पूर्णिमामा जलजलामा लाग्ने धार्मिक मेलाका लागि जाँदै थिए।
जलजलास्थित मन्दिरमा पुगेर भाकल गर्दा चिताएको मनकामना पूरा हुने जनविश्वास रहीआएको छ।
त्यो दुर्घटनामा परी दुर्घटनामा दाङको शान्तिनगर गाउँपालिका–८ घर भई रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ बस्दै आएका चालक ४२ वर्षीय बेदु कामी, उनकी सासू सिस्ने–५ की ६० वर्षीया मीना कमिनी, सिस्ने–५ की ६० वर्षीया लक्ष्मी शाह, सिस्ने–५ का २७ वर्षीया रुपमिना बस्नेत र भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ।
जिपमा सवार २१ जनामध्ये सिस्ने–५ का समिर विक मात्रै बाँच्न सफल भएका थिए।