व्यवस्थापनको आवश्यक तयारी र संवादबिनै सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्।
सरकारले काठमाडौं सहित देशभरका जिल्लाहरूमा डोजर आतंक मच्चाएको भन्दै उनीहरूले बुटवलमा चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रूपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आगामी बिहीबार बृहत् प्रदर्शन गर्न लागेको जनाएको हो।
समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले आफूहरूलाई विकल्प बिना हटाउन खोजे आन्दोलन थप चर्काउने चेतावनी दिए।
बिहीबार बुटवलको राजमार्ग चौराहाबाट सुरू हुने प्रदर्शन मिलन चोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुनेछ।
सोही दिन जिल्लाका सबै स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।
उनले आफूहरू करको दायरामा आउन तयार रहेको उल्लेख गर्दै संविधान अनुसार मानव अधिकारको सम्मान गर्दै विकल्पसहित समाधान दिन सरकारसँग माग गरे।
प्रदर्शनमा रूपन्देहीका सबै पालिकामा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू सहभागी हुने पौडेलले बताए।
रूपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ७६ हजार ६४६ परिवार रहेको तथ्यांक छ।
त्यसमध्ये भूमिहीन दलित परिवारको संख्या २ हजार ९९७, भूमिहीन सुकुम्बासी ६ हजार ६५८ र अव्यवस्थित बसोबासीको संख्या ६६ हजार ४७१ परिवार छन्।
कञ्चन गाउँपालिकामा सबैभन्दा बढी ९८८ परिवार भूमिहीन दलित, २ हजार ८१ भूमिहीन सुकुम्बासी र ९ हजार ३३३ परिवार अव्यवस्थित बसोबासी छन्।
त्यस्तै तिलोत्तमामा भूमिहीन दलित ६१०, भूमिहीन सुकुम्बासी १ हजार ८०८ र अव्यवस्थित बसोबासी ५ हजार ७७४ परिवार छन्।
बुटवलमा भूमिहीन दलित ३३३, भूमिहीन सुकुम्बासी ९४३ र अव्यवस्थित बसोबासी १५ हजार ५९८ परिवार रहेका छन्।
सैनामैना नगरपालिकामा ३२५ भूमिहीन दलित, ९४३ भूमिहीन सुकुम्बासी तथा १५ हजार ५९८ अव्यवस्थित बसोबासी परिवार छन्।
देवदह नगरपालिकामा पनि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या ठूलो छ। देवदहमा १६० भूमिहीन दलित, २६५ भूमिहीन सुकुम्बासी तथा १३ हजार ६०५ अव्यवस्थित बसोबासी परिवार छन्।