ट्राफिक जाम, वायु प्रदूषण र अस्वस्थ जीवनशैली जस्ता सहरी समस्याको दीर्घकालीन समाधानका लागि छोटो दूरीका दैनिक यात्रामा साइकल प्रयोग बढाउन सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल साइकल सोसाइटीको आयोजनामा शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा 'नागरिक आह्वान : स्वच्छ वायु, साइकलमैत्री तथा पैदलमैत्री काठमाडौं उपत्यका' विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले साइकलमैत्री सहर निर्माणका लागि राज्यको स्पष्ट नीति, पूर्वाधार विकास र राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका हुन्।
कार्यक्रममा वक्ताहरूले हालको सहरी विकास मोडलले मोटर सवारीलाई प्राथमिकता दिँदा ट्राफिक जाम, सवारी दुर्घटना र वायु प्रदूषण झन् जटिल बन्दै गएको बताए।
सडक विस्तार, फ्लाइओभर निर्माण जस्ता उपायले अल्पकालीन राहत दिए पनि दीर्घकालमा सवारी संख्या बढेर समस्या पुनः दोहोरिने उनीहरूको भनाइ थियो।
नेपालजस्ता विकासोन्मुख देशमा सवारी साधनका लागि प्रयोग हुने इन्धन पूर्ण रूपमा आयात गर्नुपर्दा ठूलो व्यापार घाटा व्यहोरिनुपरेको उल्लेख गर्दै वक्ताहरूले यसलाई कम गर्न पनि वैकल्पिक यातायात प्रणाली आवश्यक रहेको बताए।
कार्यक्रममा संघीय सांसदहरू इन्दिरा राना मगर, तोसिमा कार्की, आशिष गजुरेल, प्रमिला कुलुजु प्रधानांग र कमल सुवेदीले साइकलमैत्री पूर्वाधार निर्माण तथा नीतिगत सुधारमा सरकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
सांसद इन्दिरा राना मगरले राजमार्ग तथा सहरी क्षेत्रमा साइकलयात्रीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै पूर्व–पश्चिम राजमार्गमा साइकल लेन निर्माणको आवश्यकता औंल्याइन्।
उनले पैदलयात्री तथा साइकलयात्रीको सुरक्षाका लागि सरकार गम्भीर रहेको र आवश्यक पहल भइरहेको जानकारी दिइन्। साथै, नेपालका पदमार्ग (ट्रेल) हरूलाई अध्ययन गरी पर्यटन प्रवर्द्धनसँग जोड्न सकिने सम्भावनाबारे पनि उनले चर्चा गरिन्।
सांसद तोसिमा कार्कीले व्यक्तिगत स्वास्थ्य, वातावरण संरक्षण र सहरी यातायात व्यवस्थापनका लागि साइकल संस्कृतिको महत्व औंल्याउँदै विश्वभर दिगो तथा वातावरणमैत्री यातायात प्रणालीतर्फ आकर्षण बढिरहेको उल्लेख गरिन्।
उनले नेपालमा पनि साइकल प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै सहरी यात्रामा यसको प्रयोगले समय बचत र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने धारणा राखिन्।
उनले ललितपुरमा महिलाहरूलाई साइकल सिकाउने कार्यक्रमको प्रशंसा गर्दै यसले महिला सशक्तीकरणमा टेवा पुर्याएको बताइन्। साथै, बूढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।
सांसद कमल सुवेदीले वातावरण संरक्षण र स्वस्थ जीवनशैलीका लागि साइकलको महत्त्व उल्लेख गर्दै साइकल लेनको अभावका कारण दैनिक आवतजावतमा यसको प्रयोग सहज नभएको बताए।
उनले स्थानीय तहले कोर सिटी क्षेत्रमा साइकल तथा पैदलयात्रीमैत्री पूर्वाधार निर्माण गर्दै क्रमशः निजी सवारीमुक्त क्षेत्र विस्तार गर्नुपर्ने धारणा राखे।
सांसद आशिष गजुरेलले सहरी क्षेत्रमा साइकल संस्कृतिलाई प्रवर्द्धन गर्न आफूले पनि साइकल प्रयोग सुरू गरेको उल्लेख गर्दै बहुआयामिक यातायात प्रणाली विकास गर्नुपर्ने बताए।
उनले सकेसम्म साइकल, पैदलयात्रा र सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा विज्ञहरूले 'मोडल सिफ्ट' अर्थात् यात्रुको व्यवहार परिवर्तनमार्फत मोटर सवारीबाट साइकलतर्फ आकर्षण बढाउन सकिने बताए। सहरी योजनाकार राकेश महर्जनले सुरक्षित साइकल पूर्वाधारको अभावका कारण यसको प्रयोग विस्तार हुन नसकेको उल्लेख गरे।
डा. पवन शर्माले वायु प्रदूषणका कारण श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगहरू बढ्दै गएको बताउँदै यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले साइकल प्रयोग विस्तारले ट्राफिक जाम र दुर्घटना न्यूनीकरण, वायु प्रदूषण नियन्त्रण, शारीरिक सक्रियता वृद्धि, मुटुरोग, उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा कमी ल्याउने उल्लेख गरे।
साथै, इन्धन खपत घटाएर आयात न्यूनीकरणमार्फत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ थियो।
सरोकारवालाहरूले साइकलको बहुआयामिक उपयोगितालाई ध्यानमा राख्दै 'नेसनल बाइसाइकल भिजन २०३०' जस्ता दीर्घकालीन योजना निर्माण गर्न, साइकलसम्बन्धी कानुन, नीति तथा मापदण्ड तयार गर्न र सहरहरूमा सुरक्षित साइकल पूर्वाधार विकास गर्न सरकारसँग माग गरेका छन्।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, समुदायका प्रतिनिधि, अभियन्ता र सर्वसाधारण गरी करिब २०० जनाको सहभागिता थियो।

-1778419070.jpeg)
-1778419069.jpeg)
