अर्घाखाँचीमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा तीन महिला र पाल्पा मिसन अस्पतालमा एक जना पुरूषको उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेमध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता शर्माले बताए।
२६ जना घाइतेमध्ये २१ जनाको पाल्पा मिसन अस्पतालमा उपचार जारी छ। अन्य दुई जनालाई पनि रिफर गरिएको छ। अन्यको भने जिल्ला अस्पतालमै उपचार जारी रहेको प्रहरी निरीक्षक शर्माले बताए।
बसमा चालक, सहचालक दुई जना बाहेक अन्य २८ जना यात्रु सवार थिए।
दुर्घटनामा परेकाहरू पर्वत जिल्लाबाट अर्घाखाँचीस्थित सुपादेउराली मन्दिरको दर्शनका लागि आएकाहरू हुन्।
मन्दिरको दर्शनपछि फर्किने क्रममा ध १ ख ५०४ नम्बरका बस दिउँसो पाणिनी गाउँपालिका–८, कुँडेलेबाट झन्डै एक सय मिटरमुनि खसेको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।