झन्डै ५ वर्ष पहिलको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत अछामको मुद्दा उच्च अदालत दिपायलले उल्टाइदिएको छ।
यसअघि जिल्ला अदालतले सबै प्रतिवादी बनाइएका १० जनालाई सफाइ दिएको थियो।
तर, उच्च अदालतले सोमबार त्यो मुद्दा उल्टी गर्दै ६ जनालाई जन्म कैद (२५ वर्ष काराबास) र जनही १ लाखका दरले क्षतिपूर्ति भराउन आदेश दिएको छ। अन्य चार जनाको हकमा भने जिल्ला अदालतकै फैसला सदर गर्दै सफाइ दिएको छ।
उच्च अदालतका कामु मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले सामेकार यसअघिको जिल्ला अदालतको फैसला उल्टी गर्दै ६ जनालाई जन्मकैदको फैसला सुनाएको अदालतका प्रवक्ता नरबहादुर नेगीले सेतोपाटीलाई बताए।
यसअघि २०८२ मंसिर ४ गते जिल्ला अदालत अछामले सफाइ दिएकामध्ये पञ्चदेवल विनायक नगरपालिका– ४ का २३ वर्षीय महेन्द्र शाही, २७ वर्षीय वीरेन्द्र शाही, २९ वर्षीय देवेन्द्र शाही, ३७ वर्षीय पृथ्वी शाही, ४१ वर्षीय अक्कल शाही र ७२ वर्षीय सज्जन शाहीको हकमा जिल्लाको फैसला उल्टी गर्दै सोमबार उच्च अदालतले जन्मकैदको फैसला सुनाएको प्रवक्ता नेगीले जानकारी दिए।
साथै, उच्च अदालतले उनीहरूलाई ६ जनाबाट जनही एक लाखका दरले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। ७२ वर्षीय शाही नेपाली कांग्रेसका नगर सभापति हुन्।
दश जना प्रतिवादीमध्ये अन्य चार जनाको हकमा भने उच्चले जिल्लाकै फैसला सदर गर्दै उनीहरूलाई सफाइ दिएको छ। जसमा कर्णबहादुर शाही, शान्तिकुमारी शाही, दानमति बम शाही र द्रोपति शाही रहेको उच्चका प्रवक्ता नेगीले बताए।
सबै प्रतिवादी (दश जना) लाई सफाइ दिने जिल्ला अदालत अछामको २०८२ मंसिर ४ गतेको फैसलाप्रति चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट (पीडित पक्ष) २०८२ पुस २९ गते उच्च अदालत दिपायलमा पुनरावेदनको माग सहित मुद्दा दर्ता भएको थियो।
सोमबार सोही कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै उच्चले ६ जना विरूद्धको जिल्ला अदालतको मुद्दा उल्टी गर्दै जन्मकैदको फैसला सुनाएको हो।
यसरी भएको थियो घटना
२०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिका– ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताका बीचमा विवाद तथा सामान्य झडप भएको थियो। चुनावको दिन एमाले कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेका थिए।
सोही कुटपिटको विषयलाई लिएर कांग्रेस कार्यकर्ताले प्रहरीमा किटानी जोहरी दिएका थिए। कांग्रेस कार्यकर्ताको उजुरीको आधारमा जेठ १७ गते प्रहरीले पक्राउ गर्न खोजेपछि पुनः एमाले र कांग्रेसका कार्यकर्ताका बीचमा झडप भएको थियो।
सोही झडपकै क्रममा स्थानीय १६ वर्षीय विनोद शाही बेपत्ता भएको थिए। खोज तलास गर्ने क्रममा उनी ५ दिनपछि जेठ २१ गते घर नजिकको जंगलमा चोटग्रस्त अवस्थामा मृत फेला परेका थिए।
यो घटनामा पीडित परिवारका तर्फबाट पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित १३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउने सहित तीन जना विरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।