असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो। तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ।
भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन्।
दैनिक ४० देखि ५० वटाको संख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन्। छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ।
हात्तीको आतंक अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनसमेत नसकिरहेको अवस्था छ। बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ। किसानहरू असारको हिलोमा धान रोप्न छाडेर ज्यान हत्केलामा राख्दै दिनभर हात्ती धपाउन हिँडिरहेका छन्। स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास त गरिरहेका छन्, तर यो प्रयास ‘अल्पकालीन’मात्र सावित भएको छ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर फिल्डमा खटिएको बताएका छन्।
'हामीले स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा साइरन बजाएर हात्तीलाई बस्ती तथा चियाबारीबाट भारततर्फ धपाउने काम गरिरहेका छौँ। यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र हल हुन सक्दैन, यसका लागि सङ्घीय सरकारले नै ठोस कदम चाल्नुपर्छ,' उनले भने।
लामो समयदेखि समस्या झेल्दै आएका बाहुनडाँगीका स्थानीयवासी नीलकण्ठ तिवारीले भने आक्रोश र दुखेसो पोख्दै भने, 'जनधन जोगाउन मुस्किल पर्न थाल्यो भनेर प्रधानमन्त्रीलाई समेत मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापनपत्र बुझायौँ। तर सुनुवाइ भएन।'
बाहुनडाँगी र हात्तीबीचको द्वन्द्व दशकौँदेखि छ। भारतको आसाम र पश्चिम बङ्गालबाट नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवतजावत गर्ने परापूर्वकालदेखिको यो प्राकृतिक बाटो (करिडोर) हो। मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध पुगेपछि उनीहरू गाउँ पस्न थालेका हुन्।
हात्ती रोक्न सीमा क्षेत्रमा करोडौँको लागतमा लगाइएको विद्युतीय तारबार (फेन्सिङ) धेरै ठाउँमा जीर्ण भएको छ भने हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याइसकेका छन्। त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा (बाँस, सिरु, केरा) नहुनु र गाउँमा थन्क्याइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुन्छन्।
स्थानीयस्तरमा साइरन बजाएर वा केहीबेर धपाएरमात्र यो समस्या समाधान हुँदैन। यसका लागि नेपाल र भारत दुवै देशका सरकारबीच ‘क्रस–बोर्डर’ (सीमापार) समन्वय गरी हात्तीको पुरानो करिडोरलाई व्यवस्थापन गर्न जरुरी छ।
तत्कालका लागि स्थानीय प्रशासनले फेन्सिङको मर्मत गर्ने, प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र किसानलाई उचित क्षतिपूर्तिको ग्यारेन्टी नगरे बाहुनडाँगीमा मानवीय सङ्कट आउन सक्ने देखिन्छ।