सुर्खेतमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
बुधबार बिहान ११:४५ बजे गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा सिम्ताबाट गुमी आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी सडकमै पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चालकसहित २० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटना लगत्तै प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको कमान्डमा ट्राफिक प्रहरीसहित ७ जना टोली खटिएको थियो।
गाडीमा सवार सबैलाई उद्धार गरी उपाचारका लागि मेहेलकुना अस्पताल पठाइएको सुर्खेत प्रहरीले जनाएको छ।
घाइतेहरुमा गणेश वली, ममता पुन, रियाज शाही, विष्णुमाया सुनार, प्रविन सुनार, भावना राई, प्रज्वल राई छन्। उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ।
मेहनकुला अस्पतालमै उपचाररत घाइतेहरूमा जैसरा बुढा, भुमिसरा खड्का, उयदराम भुजेल, धनमाया भुजेल, टिका खत्री, भिम बहादुर थापा, तुलसरा सुनार, सक्षम बुढा, प्रिति गुरूङ, शान्ता खत्री, भावना आले र मनिष थापा छन्।
घाइतेहरू सुर्खेतकै गुर्भाकोट र सिम्ताका हुन्।
चालक गुर्भाकोट नगरपालिका-१३ सेराघारीका ४२ वर्षीय गगन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।