वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारको क्रममा मृत्यु भएको हो।
अक्सिजन लिइरहेका बिरामीलाई उपचारका लागि लैजाँदा अक्सिजन छुटाएर लापर्बाही गरी लगेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ।
घटनापछि उपचारमा लापरबाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला र तोडफोड समेत गरेका थिए।
सुरक्षाकर्मीले उनीहरुलाई बाहिर निकालेपछि पनि उनीहरुले प्रदर्शन जारी राखेका थिए। अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको थियो।
घटनापछि स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार, आफन्तजन र जनप्रतिनीधि भएको वार्तामा छानबिन समिति गठन गर्ने सहमति भएको छ।
छानबिन समितिमा समितिमा नारायण अस्पतालका डा. निरज कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल र अस्पताल प्रतिनिधि सुनिल कुमार रौनियार छन्।
समितिले ७ दिन भित्र प्रतिवेदन तयार गर्ने र प्रतिवेदनको आधारमा कारबाही अघि बढ्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी चक्र बहादुर मल्लले जानकारी दिए।
त्यसैगरि शनिबार इर्मजेन्सीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीलाई तत्काल काममा रोक लगाउने, अस्पतालको सेवा राम्रो बनाउन आवश्यक काम गर्ने लगायत सहमति भएको उनले बताए।