अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन सूचना प्रणालीको दुरूपयोग गरी लक्जेम्बर्गका नागरिकको भिसा कीर्ते गरेर अमेरिकी नागरिकको नाममा बनाइदिएको आरोपमा दुई जनाविरूद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सन विरूद्ध सोमबार विशेष अदालत मुद्दा दायर गरेको हो।
कम्प्युटर अपरेटर महतोले अध्यागमनको सूचना प्रणाली ‘नेपाली पोर्ट’ मा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरूपयोग गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार कानुन बमोजिमको प्रक्रिया पूरा नगरी, अधिकारप्राप्त अधिकारीको निर्णयबिना र तोकिएको राजस्व समेत दाखिला नगरी लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जको नाममा जारी भएको छ। आवासीय भिसाको सम्पूर्ण अभिलेख अमेरिकी नागरिक रोबिन्सनको नाममा एकीकृत (सेन्ट्रलाइज) गरिएको अनुसन्धानमा खुलेको छ।
महतोले २०८० फागुन ९ गते नेपाली पोर्ट प्रणालीमा केरमेट र फेरबदल गरी अमेरिकी नागरिकको राहदानीमा सोही कीर्ते भिसा टाँस्न सघाएका थिए। सोही भिसाको आधारमा ती अमेरिकी नागरिक नेपालमा बसोबास गर्दै आएको अख्तियारको दाबी छ।
सरकारी अभिलेख फेरबदल गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले महतोविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।