वीरगञ्जमा प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरूले प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञाको विरोधमा उनीहरू प्रदर्शन गरेका हुन्।
माइस्थान मन्दिर परिसरबाट निस्केका युवाहरूको समूह घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्साको मुख्य गेटसम्म पुगेको थियो। त्यहाँ उनीहरूले केहीबेर प्रदर्शन गरेका थिए।
जिल्ला प्रशासन कार्यालयमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यहाँबाट फर्केर उनीहरू घण्टाघर, लिंक रोड हुँदै बसपार्कतर्फ गइरहेका छन्।
सटर पसलहरू बन्द गराउँदै हिँडेका छन्।
वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ६ बजेदेखि निषेधाज्ञा जारी छ। बिहीबार साँझ ६ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा जारी गरेका हुन्।
पूर्वतर्फ प्रतिमा चोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाएको छ।
यी क्षेत्रमा पाँच जनाभन्दा बढी मानिसहरू भेला/जम्मा नहुन र सभा गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा वीरगन्जमा अर्को समुदायले प्रदर्शन गर्दै आइरहेको छ।