सुनसरी देवानगन्जस्थित कप्तानगन्जबाट आइतबार सुरू भएको धार्मिक तनाव बिहीबारसम्म आइपुग्दा मधेसका जिल्लाहरूसम्मै विस्तार भएको थियो।
शनिबार यो घटनाको एक साता पूरा भएको छ। घटनाको एक सातापछि सुनसरीसहित मधेसका जिल्लाहरूको अवस्था सामान्य बन्दै गएको छ।
लगातार पाँच दिनसम्मको कडा कर्फ्यू, निरन्तरको प्रदर्शन र तनावले प्रभावित बनेको कप्तानगन्ज गाउँ शनिबार बिहानैदेखि शान्त रहेको स्थानीय रामनारायण मेहताले जानकारी दिए। तर, गाउँ पुरानै लयमा कहिले फर्केला भन्ने टुंगो अझै नहुँदा गाउँलेमा चिन्ता छाएको छ।
‘शुक्रबार र शनिबारको तनावरहित स्थितिले गाउँको अवस्था तुलानात्मक रूपमा शान्त बनेको छ,’ मेहताले भने, ‘आर्मी, प्रहरीको ओहोरदोहोर कायमै छ। हामी निर्धक्क हिँड्ने अवस्था अझै छैन। गाउँमा दुई समुदायबीचमा संवाद भएकै छैन। त्यसैले अनिश्चय धेरै छ।’
कप्तानगञ्जमा भएको गोलीकाण्डमा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भयो।

घटनाका ६ जना घाइतेको विराटनगरमा र दुई जनाको काठमाडौंमा उपचार जारी छ।
कप्तानगञ्जबाट सुरू भएको तनाव तनाव सप्तकोशी नाघेर मधेसका जिल्लाहरूसम्मै विस्तार भए पनि मधेसमा भने छिट्टै नियन्त्रणउन्मुख छ।
मधेसमा शनिबार स्थानीय प्रशासनले केही ठाउँमा कफ्र्यू खुकुलो बनाएको छ।
शान्ति स्थापनाका लागि विभिन्न जिल्लाहरूमा सर्वदलीय बैठक, सद्भाव र्याली र स्थानीयस्तरका पहलहरू तीव्र भइरहेको मधेस प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।
बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा १५ वर्षीय गणेश यादवको पनि मृत्यु भएपछि तनाव थप फैलिएको थियो।
गृहमन्त्री सुधन गुरूङसँग मृतक गणेशका आफन्तले सहमति गरेपछि परिवारले शव बुझेका छन्। उनको शव धरानबाट सिरहाको औरही लगिँदै छ।

एसएसपी ढकालका अनुसार शनिबार अधिकांश जिल्लाको अवस्था सामान्य रह्यो।
उनका अनुसार सप्तरी, धनुषा लगायत जिल्लामा सर्वदलीय बैठक र सद्भाव र्याली सम्पन्न भएका छन् भने पर्सामा सडकमा टायर बाल्ने प्रयास गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर साँझ परिवारको जिम्मा लगाइएको छ।
ढकालका अनुसार सिरहाको गोलबजार क्षेत्रबाहेक अन्य स्थानको कर्फ्यू हटाइएको छ।
धनुषामा भने निषेधाज्ञा कायम छ। लामो दूरीका बस सञ्चालन पुनः सुरू भइसकेका छन् र मुख्य राजमार्गहरू पनि सञ्चालनमा आएका छन्।
