बेलायतका राजकुमार (प्रिन्स अफ वेल्स) ले पाकिस्तानको ब्रड पिकमा गएको हिम पहिरोमा परी निधन भएका नेपालीमूलका पूर्व वेलायती सैनिक तथा प्रसिद्ध पर्वतारोही निम्स पुर्जाको परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सामाजिक सञ्जाल एक्समा नेपाली समय अनुसार दिउँसो १:२० बजे एक पोष्ट गर्दै उनले निम्सको परिवार र ज्यान गुमाउने सबैको परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।
'उनको परिवार र ज्यान गुमाउने सबैका परिवारजनप्रति मेरो समवेदना छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राजकुमार विलियमले पुर्जाको मृत्युको खबरले मन खिन्न भएको बताएका छन्।
'निर्मल पुर्जा र ब्रोड पिकको हिमपहिरोमा ज्यान गुमाउनेहरूका बारेमा दु:खद खबर सुन्दा साँच्चै मन खिन्न भयो,' उनले लेखेका छन्, 'निम्सले विश्वकै एक महान आरोही बन्नुअघि बेलायती सशस्त्र बलमा उत्कृष्ट सेवा गरेका थिए, र नेपाली पर्वतारोहीहरूलाई विश्वसामु चिनाए। असम्भव देखिने कुरालाई पनि सम्भव तुल्याउने उनको अथक प्रयास, उनको विनम्रता एवं निस्वार्थभावले उनलाई साँच्चै अद्वितीय बनाएको थियो।'
त्यस्तै बेलायतका रक्षा सचिव वेस स्ट्रिटिङले पनि निर्मल (निम्स) पूर्जा र उनीसँगै आरोहण गरिरहेका व्यक्तिहरूको निधनको खबरले अत्यन्तै दुःखी बनाएको भनेर सामाजिक सञ्जाल एक्समा पोष्ट गरेका छन्।
'उनी एक प्रेरणादायी व्यक्ति थिए, जसले लामो समयसम्म हाम्रो सशस्त्र बलमा सेवा गरे, र उनको अविश्वसनीय पर्वतारोहणका साहसिक कार्यहरू विश्वभर चर्चित छन्।'
नेपालमा जन्मिएर पछि बेलायती सेनामा सेवा गरेका पूर्जा सन् २०१९ मा मात्र छ महिनाभन्दा केही बढी समयमा विश्वका १४ वटा सबैभन्दा अग्ला शिखरहरू आरोहण गरेर चर्चामा आएका थिए।