म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।
बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।
यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन्।
पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।