सिन्धुलीको सुनकोशी नदीमा खसेको कारमा सवार तेस्रो व्यक्तिको पहिचान खुलेको छ।
सोमबार पौने १२ बजे फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट प्रदेश ३-०१-०२४ च ९५७३ नं.को कार सुनकोशी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता छन्।
बेपत्तामध्ये दुई जनाको पहिचान खुल्दा अर्का एक जनाको बाँकी थियो।
ती किशोर तिनपाटन गाउँपालिका-९ डाँडाखर्क बस्ने १७ वर्षीय सुजन बलमपाकी मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
उक्त कार जुगल गाउँपालिका-७ बस्ने ३९ वर्षीय दिलकुमार लामाले चलाउँदै थिए। उनी उक्त वडाका पूर्ववडाध्यक्ष समेत हुन्। एमाले नेता समेत रहेका उनी निर्माण व्यवसायी हुन्।
त्यस्तै त्यही कारमा गोलान्जोर गाउँपालिका-१ का २८ वर्षीय गणेश थापा पनि थिए। उनीहरू तीनै जना बेपत्ता छन्।
हेम बहादुर तामाङले चलाई ल्याएको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले उक्त कारलाई ठक्कर दिँदा सुनकोशीमा खसेको हो। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ।
बेपत्ता रहेका तीन जनाको खोजी कार्य जारी छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ।