बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –४ बसपार्क क्षेत्रबाट साउन १८ गते ३० वर्षीय सुशील भण्डारी लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए।
उनी भाडामा बस्ने न्युरोडस्थित रणबहादुर केसीको घर खान तलासी गर्दा प्रहरीले थप ब्राउन सुगर बरामद गर्यो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएपछि उनले त्यो लागुऔषध कहाँ बाट ल्याएका थिएर भनेर प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो।
सोधपुछ गर्दा भण्डारीले नेपालगञ्ज – १० का ५५ वर्षीय अरुणकुमार जयसवालबाट ब्राउन सुगर लिएको बताए। त्यसपछि प्रहरीले प्रहरीले जयसवाललाई पनि सोही दिन पक्राउ गर्यो।
उनको घरको कोठाको दराज भित्र लुकाएर राखेको अवस्थामा ३८९.४५ ग्राम ब्राउन सुगर बरामद भयो। उनको साथबाट पनि १३६.८५० ग्राम ब्राउन सुगर बरामद भएको थियो।
बाँकेको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार जयसवाल लागुऔषध मुद्दामै एक डेढ महिना अघि मात्रै छुटेका थिए । फेन्सी पसलका संचालक उनी लागुऔषध मुद्दामा अदालतले पूर्पक्षका लागि तोकेको तीन वर्षको जेल सजाय भुक्तान गरी केही महिना पहिला मात्रै छुटेको रेकर्ड फेला पर्यो।
‘जेलबाट छुटेर आएपछि पनि लागुऔषधकै कारोबारमा लागेको देखियो,’ प्रहरी निरीक्षक बिष्टले भने, ‘उनी प्रयोगकर्ता हुँदै 'डिलर' भएको देखिन्छ।'
सीमा नाका भएका कारण रुपौडिया क्षेत्रमा गइ लागुऔषध ल्याउने र नेपालगञ्ज लगायतका बजारमा बिक्री गर्ने मध्यका चेन सप्लायर्स जयसवाल भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार ठूलो परिमाणमा लागु औषध बरामद हुनुका साथै उनीहरुको साथबाट २ लाख १४ हजार भारतीय र १ लाख ८० हजार नेपाली गरी कुल ५ लाख २ हजार २ सय ४० रुपैंयाँपनि प्रहरीले बरामद गरेको थियो ।
त्यसअघि साउन १६ गते पनि बाँके प्रहरीले नेपालगञ्ज – ११ कटलियास्थित ३० वर्षीया सुरेश बर्मा र उनकी २४ वर्षीया श्रीमती अनिता बर्मालाई ३८.७५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो ।
बर्माको घरमा लागुऔषधको अबैध कारोबारो भइ रहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले रितपूर्बक घरको खान तलासी गर्दा उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ।
घरबाटै श्रीमान – श्रीमति ब्राउन सुगरसहित पक्राउ परे पनि श्रीमतिले हालसम्म आफू कारोबारमा संलग्न नरहेको बताएकी छन्।
प्रहरी निरीक्षक बिष्टका अनुसार बर्मा पनि लागुऔषधका कारोबारी नै हुन्।
उनीकहाँ पुग्नुअघि प्रहरीले एक जना अर्का प्रयोगकर्तालाई पनि नियन्त्रणमा लिएको थियो । ती प्रयोकर्ताले अनिताको नाम पोलेपछि उनी पक्राउ परेका हुन्।
अनिता पनि प्रयोगकर्ता हुँदै कारोबारी भएको तथ्य प्रहरीको अनुसन्धान बाट खुलेको छ । विगतमा भन्सारमा सामान यता उता गराउने (क्यारियरको रुपमा काम गर्ने) बर्माको लागुऔषध प्रयोगकर्तासँगको संगतले आफू पनि प्रयोगकर्ता बनेको र पछि आफै ‘इजी अर्निङ’को माध्यम ठानेर कारोबारी बन्दा हिसासतमा पुगेका पात्र रहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय सरकारले सीमा नाकामा गरेको कडाइका कारण क्यारियरको काम छोडेर अनिता सीमा पारी गई लुकाइ छिपाइ आगोऔषध ओसार पसार गर्ने कार्यमा लागेको अनुसन्धान बाट खुलेको छ ।
बाँके प्रहरीले साउन ६ गते पनि ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरेको थियो । ३९९ ग्राम ९०० मिलीग्राम ब्राउन सुगरसहित दुई जना महिला पक्राउ परेका थिए ।
नेपालगञ्ज – १८ स्थित नेक्ट बाइट एण्ड कफी सप अगाडि लागु औषधको कारोबार भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १३ की निशा पुन मगर र त्रिबेणी गाउँपालिका – २ की ललिता बुढाथोकीलाई पक्राउ गरेको थियो।
उनीहरु दुबै जना नेपालगञ्जमा ‘स्टार डान्स बार’का संचालक भएको प्रहरी निरीक्षक बिष्टले बताए । उनीहरुको उमेर २५ बर्ष मुनी रहेको प्रहरी बताउँछ ।
पक्राउ परेका यी दुईले पोले पछि अर्को डान्सबार ‘ मेसिया’ की संचालक अखिला भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यद्यपी उनको साथबाट भने ब्राउन सुगर बरामद नभएको प्रहरीले जनाएको छ । उनीमाथि पनि प्रहरीको अनुसन्धान गरि रहेको छ ।
त्यो भन्दा अघिल्लो दिन साउन ३ गते बाँके प्रहरीले नेपालञ्ज – ११ बाट ४८ ग्राम ७० मिलीग्राम ब्राउन सुगरसहित दाङका दुई युवालाई पक्राउ गरेको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र जिल्ला प्रहरी कार्यालय बाँके बाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दाङको लमही नगरपालिका – ५ का ३५ बर्षीय मधुसुदन पुलामीले हाँकेको बा १७ च १४२२ नम्बरको कार शंकाष्पद रुपमा गुडेको देखेपछि खान तलासी गर्दा प्रहरीले उक्त परिमानमा ब्राउन सुगर बरामद गरेको थियो ।
प्रहरीका अनुसार कारमा सवार लमही – ५ का २८ वर्षीय निश्चल केसी पनि डिलर हुन । उनीहरुले आफ्ना श्रीमतिसमेतलाई संगै कारमा राखेर किनमेल तथा घुमघाम गर्न भनेर नेपालगञ्ज लगेका थिए । तर, उनीहरुले श्रीमतिलाई नेपालगञ्जमै किनमेल गर्नु भन्दै छोडेर आफूहरु सीमापारी रुपैडिहा बजारमा गइ ब्राउन सुगर खरिद गरि ल्याएको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।
बाँके प्रहरीले साउन महिनाको झन्डै १५ दिनको अवधिमा एक हजार ११ ग्राम बढी लागुऔषध ब्राउन सुगर नियन्त्रणमा लिन सफल भएको छ।
जिल्लाका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार सुरुमा प्रयोगकर्ता पक्राउ परेपछि उनीहरुको माध्यमबाट प्रहरी अनुसन्धान गर्दै डिलरसम्म पुगेर आगुऔषधका कोरोबारीको चेन तोड्दै अगाडि बढेको बताउँछन्।
लागुऔषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ पर्न थालेपछि समाज डरालग्दो गरी यसको दलदलमा फस्दै जान थालेको हो कि भन्ने प्रहरीको विश्लेषण छ।
कलिला युवा युवतिदेखि कारमा गुड्ने, डान्सबार संचालक, ब्यापारीसमेत पक्राउ पर्नुले लागुऔषधको दलदलबाट जोगाउनका समाजका हरेक सचेत बर्गले समयमै सावधानी अपनाउन जरुरी रहेको एसपी जिसी बताउँछन्।
लागु औषधका प्रयोग कर्ता र कारोबारीका कारण समाजमा अपराध बढेको पनि प्रहरीको विश्लेषण छ ।