मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खसेको छ।
भिमफेँदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गमा वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ट्रक बुधबार बिहान २:३० बजे चिप्लिएर खोलामा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाक्लो हुस्सु र ओरालो बाटोका कारण ट्रक चिप्लिएर एक सय मिटर तलको चण्डी खोलामा खसेको हो।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ।
ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए।
दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरे मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।