लागुऔषध खैरो हेरोइन डेलिभरी गर्नेमा राइड सेयरिङ एपको प्रयोग भएको खुलेको छ।
खैरो हेरोइन किनबेच गरेको आरोपमा लागुऔषध नियन्त्रण ब्युरोले तीन जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
उनका अनुसार यसमा राइड सेयरिङ एपको प्रयोग गरी डेलिभरी समेत गरेको खुलेको हो।
प्रहरीले ओखलढुंगाका ३४ वर्षीय हितबहादुर बस्नेत, सप्तरीका १९ वर्षीय रामकृष्ण शर्मा र धनुषाका २१ वर्षीय धनन्जय पासवानलाई पक्राउ गरेको हो।
बस्नेत स्कुल बस चालक हुन्। पासवान भने आइटी इन्जिनियरका विद्यार्थी हुन्।
प्रहरीका अनुसार ४३ ग्राम खैरो हेरोइन बरामद भएको छ।
खैरो हेरोइन सप्तरीबाट हायसमा भुजाको बोरामा राखेर ल्याइन्थ्यो। उक्त लागुऔषध सप्तरीबाट पासवानले ल्याउँथे।
पासवानले ल्याएपछि बस्नेतले गोंगबुको मित्रनगरको गेष्ट हाउसमा बसेर बिक्री गर्थे। जसको ओसारपसारका लागि शर्माले राइड सेयरिङ गरी सहजीकरण गर्थे।
यसरी उनीहरूबीच ५ पटकसम्म किनबेच भएको प्रहरी बताउँछ। तर प्रत्यक्ष भेट भने भएको थिएन।
ब्युरोले उनीहरू तीनै जनामाथि अनुसन्धान अघि बढाएको छ।