दाङ प्रहरीले विभिन्न वन जंगलबाट ५५ थान भरूवा बन्दुक बरामद गरेको छ।
चार दिनको अवधिमा विभिन्न वन जंगलमा लुकाइछिपाइ राखेको अवस्थामा अवैध ५५ थान भरूवा बन्दुक बरामद भएका जिल्लाका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले बताए।
जिल्लामा प्रहरीले सञ्चालन गरेको ‘विशेष सर्च अपरेसन’ का क्रममा साउन १६ देखि १९ गतेका बीचमा जिल्लाका विभिन्न स्थानका जंगलमा सञ्चालन गरिएको अपरेसनका क्रममा दुई पालिकाबाट ती बन्दुकहरू बरामद भएको उनले बताए।
नेपालीका अनुसार बंगलाचुलीको विभिन्न वन जंगल र ओडारमा लुकाइछिपाइ राखेको अवस्थामा ४८ नाल भरूवा बन्दुक बरामद भएका थिए। त्यस्तै लमही नगरपालिकाको अर्को एउटा जंगलमा लुकाइछिपाइ राखेको अवस्थामा थप ७ नाल भरूवा बन्दुक बरामद भएको नेपालीले बताए।
बरामद अवैध हातहतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।
अवैध हातहतियार नियन्त्रण तथा शान्ति–सुरक्षा सुदृढ बनाउन यस्ता विशेष अपरेसनलाई निरन्तरता दिने पनि प्रहरीले जनाएको छ।