कपिलवस्तु प्रहरीले सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै साढे पाँच लाख बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
शिवराज नगरपालिका–५ बालानगरका ३६ वर्षीय जग्गु तेली पक्राउ परेका हुन्।
जिल्लाकै वाणगंगा नगरपालिका–४ का अकबर अली सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय तौलीहवामा रहँदा मुद्दा मिलाइदिने आश्वासन दिएर तेलीले अलीको परिवारबाट ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा तेली पक्राउ परेका हुन्।
अकबरका बुवा ६५ वर्षीय अब्दुल मोबिन मुसलमानले तेलीका विरूद्ध ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए।
प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार मुसलमानले दायर गरेको मुद्दामा तेलीले आफ्नो प्रहरी प्रशासनका मानिसका साथै विभिन्न निकायका चिनजान तथा सम्बन्ध रहेको भन्दै छोरा छुटाइदिने भ्रममा पारी पाँच लाख ६२ हजार बढी रकम लगेर ठगी गरेका थिए।
तेलीमाथि ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी शीर्षकमा अनुसन्धान गर्न अदालतको पाँच दिनको म्याद दिएको डिएसपी सिंहले बताए।
तेलीमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।