झमझम परिरहेको पानी। कसैले शरीरमा प्लास्टिक बेरेका छन् त कसैले बोरा ओढेर ओत लाग्ने प्रयास गरिरहेका छन्। साथमा छन् पोकापन्तुरा। बच्चादेखि वृद्धसम्म। १० दिनदेखि सडकको तातो र चिसो नभनी हिँडिरहेका यी गोडाहरू सुन्निएका छन्, कतिपयका पैतालामा घाउ लागेर रगत जमेको छ। तर, शरीरको दुखाइभन्दा ऋणको बोझले थिचिएको मनको पीडा निकै गहिरो छ।
यो दृश्य हो, लघुवित्त र मिटरब्याजको चक्रव्यूहमा फसेका पीडितहरूको, जो 'नागरिक बचाउ महाअभियान' अन्तर्गत सर्लाहीको हरिवनबाट पैदल यात्रा सुरू गरेर १० औँ दिनमा आज चितवन आइपुगेका छन्।
उनीहरूको गन्तव्य एउटै छ— संघीय राजधानी काठमाडौं र माग पनि एउटै छ— लघुवित्तको आतंकबाट मुक्ति र न्याय।
पैदल यात्रीमध्येकी एक हुन् बाराकी जीरामती।
उनले १ लाख ऋण लिएकी थिइन्, तर त्यो बढेर २ लाख, ३ लाख हुँदै ४ लाख पुगिसक्यो।
'१० दिनदेखि सडकमा छौँ, सरकारले हाम्रो दु:ख बुझिदिए हुन्थ्यो,' उनी भन्छिन्, 'ऋण मिनाहा गरिदिए हामी बाँच्न सक्ने थियौँ।'
यस्तै पीडा बाराकै परमशीला देवीको पनि छ। ८० हजार र १ लाख उठाएको ऋण बैंकले ३ लाख पुर्याइदिएको उनी बताउँछिन्। लकडाउनका कारण काम गर्न नपाएपछि किस्ता तिर्न नसकेका उनीहरूलाई बैंकले 'कालो सूची’ मा राखेर मानसिक तनाव दिएको छ।
'हिँड्दा हिँड्दा जिउ दुखेर ज्वरो आइसकेको छ, तर हाम्रो समस्या सुन्ने कसले?' उनी प्रश्न गर्छिन्।
करिब ३०० देखि ३५० जनाको संख्यामा रहेका यी पीडितहरूको अवस्था दयनीय छ।
महोत्तरी पिपरा गाउँका गोविन्द महतोका अनुसार, १०/१५ जनाको समूह बनाएर बैंकले ऋण त दियो, तर अहिले ब्याजमाथि ब्याज थपेर उठिबास लगाएको छ। महिनाको १२ हजार ५०० सम्म ब्याज तिर्दा पनि ऋण नसकिएको र कालो सूचीमा राखेर दुःख दिएको उनी बताउँछन्।
यहीँ टोलीमा छिन्, जनकपुरकी परमिला देवी दनुवार।
उनको कथा झनै कहालीलाग्दो छ। उनले महाजन (साहु) लाई पैसा बुझाइसक्दा पनि उल्टै जेल हाल्ने धम्की खेप्नु परिरहेको छ।
'पैसा त दिइसकेँ, तर महाजनले जेल हालिदिन्छु भन्छ,' उनी गहभरि आँसु पार्दै भन्छिन्।
महाअभियानका केन्द्रीय सदस्य राजेन्द्र परियारका अनुसार कतिपय पीडितहरू खाली खुट्टा हिँडिरहेका छन्, कतिपयका चप्पल फाटिसकेका छन्।
'हामी धर्मशाला र मन्दिरमा बास बस्दै आएका छौँ, बर्खाको समय छ, बाटोमा बिरामी हुने र चोट लाग्नेहरूको संख्या बढ्दो छ,' परियारले भने।
आन्दोलनकारीहरूले मुख्य रूपमा १२ बुँदे सम्झौता लागू गर्नुपर्ने, कालो सूची फुकुवा गर्नुपर्ने र लघुवित्तको आतंक बन्द गर्नुपर्ने माग राखेका छन्।
चितवन आइपुगेका उनीहरू अब काठमाडौँ छिरेर सरकारलाई दबाब दिने तयारीमा छन्।
'यदि हाम्रो माग पूरा भएन भने हामी काठमाडौं पुगेर आत्मदाह गर्न पनि पछि पर्ने छैनौँ,' परियारले चेतावनी दिँदै भने, 'हामी खाली हात फर्किन आएका होइनौँ।'
बर्खाको झरीमा रूझ्दै, भोक र थकाइलाई बिर्सेर न्यायको खोजीमा हिँडेका यी नागरिकहरूका अनुहारमा थकान त प्रष्ट देखिन्छ, तर न्याय पाउने आश अझै मरेको छैन। उनीहरूका सुन्निएका खुट्टा र न्याय पर्खिरहेका थकित अनुहार राज्यको संयन्त्र र लघुवित्तको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
तस्बिरहरू:
-1785937456.jpg)
-1785937456.jpg)
-1785937456.jpg)
-1785937455.jpg)
-1785937454.jpg)
-1785937454.jpg)
-1785937455.jpg)
-1785937454.jpg)
-1785937455.jpg)
-1785937454.jpg)
-1785937455.jpg)
-1785937454.jpg)
-1785937453.jpg)
-1785937453.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी