हवाइ इन्धन (एभिएसन फ्युएल) चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा आयल सेन्टरका सञ्चालकसहित पम्पका कर्मचारी र चालक दलका सदस्यहरू छन्।
सौदागर आयल सेन्टरका सञ्चालक वीरगञ्ज–३ बस्ने ५५ वर्षीय सुनैन मियाँ, पम्प कर्मचारी वीरगञ्ज–१५ बस्ने २३ वर्षीय असलम हवारी, वीरगञ्ज–११ बस्ने २१ वर्षीय रफिक मियाँ, मकवानपुर, हेटौँडा–११ बस्ने २० वर्षीय सन्देश राना मगर, मकवानपुर, हेटौंडा–१० बस्ने ४६ वर्षीय केशरराम सुनार, हेटौंडा–१४ बस्ने ५० वर्षीय मन्द सिंह लामा, मकवानपुर, हेटौंडा–१४ बस्ने उमेश राना मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
भारतको बरौनी डिपोबाट सिनामंगलस्थित नेपाल आयल निगमको हवाइ इन्धन डिपोका लागि ल्याइँदै गरेको २० हजार लिटर क्षमताको ना ७ ख १५३९ नम्बरको ट्यांकरबाट तेल चोरी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
साउन २१ गते साँझ साढे ५ बजे वीरगञ्ज महानगरपालिका–१४ बाइपासस्थित ‘सौदागर आयल सेन्टर’ मा ट्यांकरबाट अवैध रूपमा इन्धन निकालिरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
डिएसपी मल्लका अनुसार ट्यांकरमा लगाइएको मुख्य सिल नकाटी फलामको पाइपको हुक प्रयोग गरेर उचाली ग्यालेनहरूमा हवाइ इन्धन भरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।