नेपाल अडिटर्स एशोसिएसन (अडान) ले २१औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘अडान डे’ देशभर विभिन्न व्यावसायिक तथा सामाजिक कार्यक्रमसहित सम्पन्न गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा आयोजित मूल समारोहमा महालेखापरीक्षक तोयम रायाको प्रमुख आतिथ्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, आन्तरिक राजस्व विभागलगायत विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो।
अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट करिब ८०० जना रजिष्टर्ड अडिटर, चार्टर्ड एकाउन्टेन्ट, व्यावसायिक लेखापाल तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा व्यावसायिक लेखा तथा लेखापरीक्षणमा कृत्रिम बुद्धिमत्ता (एआई), सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन तथा नेपालको आयकर ऐन र कर प्रणालीका चुनौती तथा सुधारका विषयमा तीन वटा प्राविधिक कार्यपत्र प्रस्तुत गरिएको थियो।
महालेखापरीक्षक रायाले लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धि, दक्ष जनशक्ति उत्पादन र प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिएका थिए। अडानका अध्यक्ष भट्टराईले लेखापरीक्षण पेशाको विकास, रजिष्टर्ड अडिटरको क्षमता अभिवृद्धि र वित्तीय सुशासन प्रवर्द्धनमा संस्था निरन्तर सक्रिय रहने बताएका थिए।
स्थापना दिवसका अवसरमा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङ, आइक्यानका नवनिर्वाचित अध्यक्ष आनन्दराज शर्मा वाग्ले, उपाध्यक्ष हेमकुमार काफ्ले तथा नेपाल लेखामान बोर्डका अध्यक्ष रमेशकुमार धिताललाई सम्मान गरिएको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशभर रक्तदान, अन्तरक्रिया, सेमिनार, वृक्षारोपण, फुटसल प्रतियोगिता, वृद्धाश्रममा सहयोग तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गरिएको अडानले जनाएको छ।