आदिवासी जनजाति समुदायका अगुवाहरूले आफ्ना मौलिक थातथलोका नाम फेरिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँको गोंगबुस्थित तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्मा शुक्रबार आयोजित ‘आदिवासी जनजाति थातथलोका मौलिक नामको पुनःस्थापनामा जातीय संस्थाको भूमिका’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी अगुवाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
३२ औँ विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा नेपालभर रहेका विभिन्न आदिवासी जनजाति समुदायका जातीय संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष निमा लामा ह्योल्मो विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सहभागी विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना जातजातिको पहिचान, इतिहास, भाषा, संस्कृति र मौलिक थातथलोका नाम संरक्षण गर्नुपर्नेमा जोड दिए। उनीहरूले मौलिक नामहरू परिवर्तन हुँदै गएको भन्दै पुरानै नाम पुनःस्थापना गर्नुपर्ने धारणा राखे।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्षले तमु (गुरुङ) समुदायको आफ्नै भाषामा रहेका मौलिक थातथलोका नामहरू क्रमशः नेपालीकरण हुँदै गएको बताए। उनले मौलिक नामको संरक्षण र पुनःस्थापनामार्फत समुदायको ऐतिहासिक पहिचान जोगाउनुपर्नेमा जोड दिए।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले पनि आदिवासी जनजाति समुदायका मौलिक थातथलोका नाम पुनःस्थापनाका लागि सम्बन्धित जातीय संघ–संस्थाहरू सक्रिय हुनुपर्ने बताए।
मौलिक नामको संरक्षण तथा संवर्द्धनका लागि महासंघले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
यसैबीच, साउन २४ गते (अगस्ट ९) काठमाडौँमा विभिन्न कार्यक्रमसहित ३२औँ विश्व आदिवासी दिवस मनाइँदै छ।
-1786175473.jpg)
-1786175473.jpg)
-1786175473.jpg)