हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।
काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ।
पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ।
अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागको थोरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने आकलन छ।
सोमबार राति हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
देशको पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेधगर्जन चट्याङ्ग सहितमध्यमसम्मको वर्षाको सम्भावना छ।
मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।