कालिकोटमा अटो दुर्घटनामा परी एक जना यात्रुको मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी महाबै गाउँपालिका– ५ गेलाका ३५ वर्षीय मंगल शाहीको मृत्यु भएको जिल्ला प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए।
गम्भीर घाइते शाहीलाई उपचारका लागि जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा महाबै–५ गेलाकी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र वडा नं. ६ की प्रतिमा आचार्य घाइते छन्।
घाइतेलाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।
सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सोमबार बिहान साढे नौ बजेतिर पिलीबाट मान्मतर्फ जाँदै गरेको क.प्र. ०२००१ ह ११९४ नम्बरको अटो ब्रेक फेल भइ सडकको पर्खालमा ठोक्किएको थियो।
अटो चालक स्थानीय ४७ वर्षीय कृष्णबहादुर मल्ल प्रहरी नियन्त्रणमा छन्।
अटो ब्रेक फेल भई सडकमै पल्टिएको थियो ।