रूकुम पश्चिममा दुई दिनमा सर्पदंशका चार वटा घटना भएका छन्।
आइतबार र सोमबार गरी जिल्लामा चार जना सर्पदंशबाट घाइते भई उपचाररत छन्।
आइतबार साँझ ५ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका–२ गिठाकोटमा २२ वर्षीया कोपिला महतारा सर्पदंशबाट घाइते भएकी थिइन्।
घर नजिकको आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा पहिचान नभएको सर्पले उनको बाँया हातमा डसेपछि उनी घाइते भएकी थिइन्। उनको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचार जारी रहेको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए।
सोही दिन बेलुकी साढे ८ बजेतिर चौरजहारी नगरपालिका–८ चिप्लेटीकी २३ वर्षीया दीपा विकलाई आफ्नै घर नजिकको खेतबारीमा हिँड्ने क्रममा सर्पले दाहिने खुट्टामा डसेको थियो।
उनको पनि मेहलकुनामा उपचार जारी छ ।
सोही दिन बिहान ११ बजेतिर चौरजहारी– १ लामिछाने गाउँकी २९ वर्षीया कमला विकलाई घाँस काट्ने क्रममा सर्पले डसेर घाइते तुल्याएको र उपचारका लागि सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक परियारले बताए।
सल्यानको कुमाख गाउँपालिका – ४ जिउँलास्थित माइती घरमा गएको समयमा घर नजिकको बारीमा घाँस काट्ने क्रममा पहिचान नभएको सर्पले बायाँ खुट्टामा टोकी घाइते भएपछि मेहलकुनामा पुर्याएर उपचार भइरहेको प्रहरी निरीक्षक परियारले जानकारी दिए।
त्यस्तै, सोमबार बिहान साढे ५ बजेतिर जिल्लाको सानीभेरी–३ ज्यामिरेकी २५ वर्षीया अृमता विष्ट आफ्नै घरको कोठामा सुतिरहेको समयमा पहिचान नभएको सर्पले दाहिने कानमा डसेको थियो।
विष्टको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको प्रहरी निरीक्षक परियारले बताए।
दुई दिनको अवधिमा चार जनालाई सर्पले डसेपछि सल्यान, रूकुम जस्ता पहाडी तथा हिमाली जिल्लामा पनि सर्पको जगजगी बढ्नु चिन्ताको विषय मान्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।
हिमाल र पहाडमा बिस्तारै सर्प उक्लँदै गएको कारण तापक्रम बृद्धिलाई मान्न सकिने उनीहरूको मत छ।