प्रहरीले पत्रकार किशोर श्रेष्ठसँग भेट्न गएका वकिललाई पनि उनीसँग भेट्न नदिएको खुलेको छ।
बुधबार नख्खुबाट पक्राउ परेका पत्रकार श्रेष्ठ अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।
उनलाई भेट्न बिहीबार बिहान वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नदिएको वरिष्ठ अधिवक्ता भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
वरिष्ठ अधिवक्ता भट्टराई पत्रकार श्रेष्ठको परिवारकै अनुरोधमा परिसर पुगेका थिए।
परिसर प्रमुख एसएसपी दिलिप घिमिरेले उनलाई केही बेर कुर्न भनेका थिए।
'आधा घन्टा यताउति फोन गरेपछि तपाईंहरूलाई बिदा गर्नुपर्ने भयो भन्नुभयो,' वरिष्ठ अधिवक्ता भट्टराईले भने।
त्यसपछि एसएसपी घिमिरेले 'म्याद थपका लागि अदालत लैजाँदा त्यतै भेट्नुपर्ला' भनेर भेट्न नदिएको भट्टराईले बताए।
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा बिहीबार बिहान भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका थिए।
नेपाल पत्रकार महासंघको आह्वानमा धर्नामा बसेका पत्रकारहरू र प्रहरीबीच धकेलाधकेल पनि भएको थियो।
जनआस्था साप्ताहिकका अध्यक्ष रहेका श्रेष्ठविरूद्ध एक महिलाले वैयक्तिक गोपनीयता भंग गरेको आरोप लगाउँदै उजुरी दिएपछि परिसर टोलीले उनलाई नख्खुबाट पक्राउ गरेको थियो।
पक्राउपछि बिहीबार बिहान प्रहरीले जनआस्थाको कार्यालयमा पनि खानतलासी गरेको थियो। खानतलासी गरी त्यहाँबाट कम्प्युटरका सिपियू र अरू उपकरणहरू लिएको छ।