रोल्पाको थवाङ पहिरोमा परेकामध्ये हालसम्म घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। प्यूठानमा फेला परेका थप पाँच वटा शव पनि थवाङ पहिरोमै बेपत्ता व्यक्तिहरूको भएको पुष्टि भएको छ।
खोज तथा उद्धार कार्यमा संलग्न जिल्लाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार हालसम्मको खोजीबाट घटनास्थलमा पाँच जनाको शव फेला परेको हो।
पहिरोमा परी एकै घरका तीन जनाको पनि मृत्यु भएको उनले बताए।
'म दिनभर खोज तथा उद्धार कार्यमै छु। त्यसैले उनीहरूको विवरण टिपोट भने छैन,' उनले भने।
बिहीबार अपराह्न स्थानीय ८५ वर्षीया हस्तकला रोका मगरको शव घटनास्थलको पहिरोमा फेला परेको थियो। त्यसअघि स्थानीय ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ति पुन मगरको शव सुरक्षाकर्मीले पहिरोबाट निकालेका थिए।
घटनास्थलभन्दा झन्डै ४४ किलोमिटर दक्षिण प्यूठानको माडी खोला किनारको विभिन्न भागमा पाँच वटा शव बिहीबार बिहानै फेला परेका थिए।
प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार खोला किनारमा फेला परेका पाँचै शव थवाङ पहिरोमा परेका भएको आफन्तले सनाखत गरेका छन्।
प्यूठान प्रहरीका अनुसार रोल्पा थवाङ–५ कोटलबाराका ७ वर्षीय अशोक पुन मगर रहेको उनका काका कृष्ण पुन मगरले सनाखत गरेका हुन्।
सोही ठाउँका ३४ वर्षीय महेन्द्र घर्तीको सनाखत भान्जा कृष्ण पुन मगरले सनाखत गरेका हुन्।
६६ वर्षीया मनी पुन मगरको सनाखत छोरा गोबबहादुरले गरे। गोबबहादुरले नै भान्जी ३४ वर्षीया विष्णु पुन मगर र काका ८० वर्षीय बलबहादुर पुन मगरको सनाखत गरेका हुन्।
'प्यूठानमा फेला परेका शव क्षतविक्षत भएका र आफन्त आउन पनि समय लागेकाले सनाखतमा केही ढिलाइ भयो,' डिएसपी अधिकारीले भने।
प्रहरीले यसअघि दिएको जानकारी अनुसार एउटा शवको ढाडदेखि माथिको भाग मात्रै फेला परेको थियो। अर्कोको टाउको लगायत भागहरू फेला पर्न सकेका थिएनन्।
थवाङ पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएकामध्ये २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई रोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि रिफर गरिएको छ।

अझै ३ जना बेपत्ता
पहिरोमा परेकामध्ये अझै तीन जना बेपत्ता छन्।
रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बेपत्ता हुनेहरू ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ६१ वर्षीय लिलबहादुर पुन मगर छन्।
घटनास्थलबाट रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुले दिएको जानकारी अनुसार थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार बेलुकी करिब साढे ७ बजेतिर माथिबाट झरेको पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च पुरेको र बगाएको थियो।
पहिरोबारे प्रहरीले बुधबार राति करिब पौने ९ बजेतिर मात्रै सूचना पाएको थियो। इलाका प्रहरी कार्यालय उवाबाट सवा १० बजेतिर प्रहरी घटनास्थल पुगेका थिए। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरीका प्रदेश डिआक्षजी अभिकुमार खत्री लगायत पनि पुगेका थिए।
डिएसपी बाखुका अनुसार इप्रका, उवा, थवाङ, जिप्रका रोल्पा, विपद गुल्म कार्यालय दाङसमेतका गरी ५० भन्दा बढी नेपाल प्रहरी, नेपाली सेनाको टोली, सशस्त्र प्रहरीको टोलीसमेत गरी झन्डै ७० हाराहारी सुरक्षाकर्मी दिनभर खटिए। स्थानीयसमेत गरी झन्डै डेढ सय जति खोज तथा उद्धारमा दिनभर खटे। बेलुकीसम्मै खोजी कार्य जारी छ।
घटनास्थलमा रोल्पाबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, थवाङ, सुनछहरी, परिवर्तन गाउँपालिका लगायतका अध्यक्ष पनि पुगेका थिए।
वर्षौंदेखि पानी बग्ने खोँचमा ग्रेगान तथा लेदोसँगै झरेपछि बस्ती सखाप
वर्षौंदेखि वर्षामा पानी बग्ने खोँचमा भारी वर्षापछि पानीको बहाव बढेको र त्यसले ग्रेगान तथा लेदो माटोसहित बगाएपछि ठूलो बाढीको रूप लिएर थवाङको कोटलबार गाउँ नै तहसनहस पारेको डिएसपी बाखुले बताए।
'पहिरो गएको पहाडमाथि बाटोको पहाडको शिर खनिएको त्यस्तै कुनै अवस्था देखिएन,' उनले भने, 'वर्षौंदेखि पानी बग्ने नपत्याउँदो खोँचमा भारी वर्षापछि ग्रेगान र लेदोसमेत बगेर बस्ती नै सखाप पारेको देखियो।'
प्रत्यक्ष अवलोकन गर्दा तथा स्थानीयसँग बुझ्दासमेत सोही कुरा उनीहरूले आफूलाई बताएको उनले बताए।
'यहाँको स्थिति निकै बिजोग छ। बाढीपहिरोले सबै तहसनहस पारेको छ,' उनले भने, 'सम्भावित जोखिम पूर्वअनुमान नगर्नू र जोखिमयुक्त ठाउँका बस्ती समयमै स्थानान्तरण नगर्दा ठूलो मानवीय क्षति हुन पुगेको मैले देखेँ।'