कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीमा मोदी खोलामा आएको बाढीले एउटा पुल र अन्नपूर्ण मन्दिरको आधा भाग बगाएको छ।
बाढीका कारण मन्दिरका पुजारी र दुई जना भक्तजन फसेका छन्।
उनीहरूको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानका अनुसार गएराति साढे २ बजेपछि आएको बाढीले पोखराबाट घान्द्रुक जाने सडकसमेत अवरुद्ध भएको छ।
बाढीमा फसेका तीन जनाको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पासवानले जानकारी दिए।
यसअघि अन्नपूर्ण गाउँपालिका–१० को घान्द्रुक जाने सडकखण्डमा मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकमा क्षति पुर्याएको थियो।
बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनका होटल पूर्ण रूपमा बगाएको थियो।
