जाजरकोटमा अबिरल वर्षापछि स्थानीय खोलामा आएको बाढीले स्थानीयका घर र झोलुंगे पुलमा क्षति पुर्याएको छ।
जिल्लाको नलगाड नगरपालिका– १० तासुघाट खोलाले झोलुंगे पुलको पश्चिम तर्फको भाग बगाएको छ।
झोलुंगे पुल बगाएको कारण इलाका प्रहरी कार्यालय रग्दा बाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थल जान हिँडे पनि पुग्न सकेको छैन।
प्रहरीका अनुसार प्रहरी टोली घटनास्थलमा पुग्न नसकेको हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ।
तासुघाट खोलामा बाढी आएको र अर्कौ वैकल्पिक मार्ग नभएको हुँदा सडक खण्ड अवरुद्ध रहेको छ।
प्रहरीका अनुसार बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पनि अवरुद्ध छ।
बाढी र कटानले नलगाड –१० रोलीका स्थानीयको घरमा क्षति पुर्याएको छ।
बाढीले रोलीका पृर्थिबहादुर विकको दुई तले ढुङ्गा–माटोले बनेको र ढुंगाले छाएको घर बगाएको छ। विकको परिवारका नौ जना सदस्य भने सुरक्षित छन्।
त्यस्तै, स्थानीय खैते विकको दुईतले ढुङ्गा–माटोले बनेको र ढुंगाले छाएको घर, नरबहादुर विकको तीन तले ढुङ्गा–माटोले बनेको र ढुङ्गाले छाएको घर र हस्त विकको दुई तले ढुंगा–माटोले बनेको र ढुंगाले छाएको घर बाढीको उच्च जोखिममा छन्।
ती तीन घरका थप २८ जना सदस्यलाई पनि सुरक्षित ठाउँमा स्थान्तरण गरेको प्रहरीले जनाएको छ ।