बाजुरामा मध्यराति झरेको पहिरोले घर पुर्दा बेपत्ता युवतीको शव फेला परेको छ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा झरेको पहिरोले घर पुर्दा बेपत्ता २० वर्षीया प्रतिक्षा थापाको शव बिहान पौने १० बजेतिर फेला परेको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
सोही पहिरोमा परि घाइते रहेका ४० बर्षीया धौली देवी रावत र ४० बर्षीय धर्म थापालाई प्रहरीले आँफैले स्ट्रेचरमा बोकेर बाटो सम्म पुर्याएको र त्यहाँबाट गाडीमा राखेर जिल्ला अस्पताल मार्तडी पुर्याइ उपचार भइ रहेको इन्स्पेक्टर शाहीले बताए।
प्रहरीका अनुसार दुई घाइते मध्य रावतको अवस्था गम्भीर छ भने थापाको अवस्था मध्यम छ।
घटनास्थलमा उद्धार सामग्रीसहित जिल्ला प्रहरी प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली पुगेर खोज तथा उद्धारको कार्य जारी राखेको छ।