रोल्पा प्रहरीले जिल्लाको सुनछहरी पहिरोमा बेपत्ताहरूको विवरण सार्वजनिक गरेको छ।
अविरल वर्षापछि गएराति घरमाथि बाट झरेको पहिरोका कारण जिल्लाको सुनछहरी गाँउपालिका– २ फलबाङका वीरबहादुर घर्ती मगरको घर पुरिएको प्रहरीले जनाएको छ।
पहिरोबारे स्थानीयलेले शुक्रबार बिहान ८ बजेपछि प्रहरी चौकी गाममा सूचना दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक मकर रासकोटी नेतृत्वको टोली बिहान ९ बजेतिर घटनास्थल पुगेको थियो।
पहिरोले घर्तीको घर पुर्ण रुपमा पुरिएको अवस्थामा रहेको श्रेष्ठले बताए।
प्रहरीका अनुसार पहिरोमा परी वीरबहादुर घर्ती मगर, उनकी श्रीमती सनी घर्ती मगर र राति सोही घरमा सुत्न आएकी छिमेकी लली घर्ती मगर बेपत्ता छन्।
स्थानीय र प्रहरी मिलेर पहिरो पन्छाउँदै उनीहरुको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सुनछहरी –२ गिट्ठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले पूर्ण रुपमा परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पहिरोले घर पुरेको भन्ने खबरपछि प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर पाण्डेको नेतृत्वमा टोली बिहान ९ बजे घटनास्थल पुगेको थियो।
यहाँ कति जना मानिस थिए भन्ने बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।