खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास विक्री वितरण सुरू गरेको छ।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि पाँच ठाउँमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो।
टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको छ।
बिक्री केन्द्रअनुसार फरक–फरक ब्राण्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ । निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ।
नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलकाअनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन्।
बिहानदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उनले जानकारी दिए।
निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ।
बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिनसक्ने व्यवस्था गरिएको छ।
बबरमहल केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिण्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए।
त्यहाँबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिनेछ।
निगमको टेकु परिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण हुनेछ।
चाबाहिलको यातायात कार्यालयबाट नेपाल र एचपी ग्यास वितरण हुनेछ। राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण हुनेछ।
राधास्वामीकै बसुन्धारामा नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण हुनेछ।
निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोहरुसंगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको उनको भनाइ छ।
ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ।
ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए।
निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरेपनि सर्वसाधारणले भने सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
बबरमहलमा ग्यास लिन बसेको सेवाग्राहीहरुले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् ।
लाइनमा बसेर ग्यास लिने पालो आएपनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरुको भनाइ छ।
यद्यपि ग्यास आउने आशामा आफूहरु दिनभर कुरेर बसेको उपभोक्ता बताउँछन् ।
निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।–न्युज एजेन्सी नेपाल