नेपाली कांग्रेसको सांगठनिक संरचनामा परिवर्तन गर्नुपर्ने निष्कर्षका साथ संस्थापन इतर समूहको राष्ट्रिय भेलामा विधान संशोधनको प्रस्ताव पेस भएको छ।
नेता रमेश लेखक संयोजकत्वको कानुन तथा विधान समितिले तयार पारेको प्रस्तावमा टोल समितिदेखि केन्द्रीय कार्यसमितिसम्मका संरचनालाई चुस्त, समावेशी र प्रविधिमैत्री बनाउने योजना समावेश छ।
लेखकले पेश गरेको प्रस्तावमा टोल, वडा, गाउँ, नगर र जिल्ला कार्यसमितिमा १८ देखि ३५ वर्ष उमेर समूहका युवाको कम्तीमा २० प्रतिशत उपस्थिति अनिवार्य गर्ने उल्लेख छ।
त्यस्तै ३० वर्षमुनिका युवालाई पार्टीका सबै संरचनामा प्रत्यक्ष निर्वाचन तथा मनोनयनमार्फत नेतृत्वमा ल्याउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ।
पार्टीका टोल समितिहरू भूगोल र जनसङ्ख्याका आधारमा गठन गरिने र त्यसमा उपसभापति र कोषाध्यक्षको पद अनिवार्य गर्दै महिला, दलित, जनजाति र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख छ।
लेखकले पेश गरेको प्रस्तावमा केन्द्रीय समितिमा उपसभापतिको सङ्ख्या बढाउने र सभापतिको सिफारिसमा केन्द्रीय कार्यसमितिले एक जना वरिष्ठ उपसभापति चयन गर्ने व्यवस्था गरिने उल्लेख छ।
सभापतिले मनोनयन गर्ने कोटाबाट अर्थशास्त्र, कानुन, समाजशास्त्र, राजनीतिशास्त्र र चिकित्सा क्षेत्रका विशेषज्ञहरूका लागि २५ प्रतिशत सिट सुरक्षित गर्ने नीति लिइने प्रस्ताव गरिएको छ।
पार्टीका साधारण तथा क्रियाशील सदस्यता वितरण, नवीकरण र खारेजीलाई डिजिटल प्रणालीमा ढाल्दै वडा तहबाटै केन्द्रीय अभिलेखमा जोड्ने प्रस्ताव पनि उल्लेख छ।
केन्द्रीय समितिको म्याद वा आमनिर्वाचन आउन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा विशेष महाधिवेशन’ बोलाउन नपाइने गरी विधान संशोधन प्रस्ताव पनि गरिएको छ।