विराटनगरस्थित मोरङ कारागार सोमबार बिहानैदेखि अशान्त बनेको छ।
प्रहरीले कारागारमा खानतलासी गरेको भन्दै कारागार ‘बी’ ब्लकका कैदीबन्दीले बिहानैबाट नाराबाजी गरिरहेका छन्।
कैदीबन्दीहरुले कारागार भवनको छतमा चढेर नाराबाजी गरिरहेको कारागार प्रशासनले जनाएको छ।
प्रहरीले कारागारभित्र लागूऔषध लगायतका गैरकानुनी सामग्री रहे–नरहेको जाँचबुझ थालेपछि तनाव सिर्जना भएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालसहित जिल्ला सुरक्षा समितिको टोलीको उपस्थितिमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो।
खानतलासीलाई प्रहरीले आफ्नो नियमित काम भनेको छ।
एसपी कटुवालका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारमा समय–समयमा गरिने नियमित निरीक्षणकै क्रममा यो कदम चालिएको हो।
प्रहरी स्रोतका अनुसार केही कैदीबन्दीलाई अर्को कारागार सार्ने तयारी गरेको छ।
तर, कैदीहरूले नाराबाजी गरेपछि तत्कालका लागि योजना स्थगित भएको एक प्रहरी अधिकारीले जानकारी दिए।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कारागार परिसरलाई सुरक्षा घेरामा राखेका छन्।