लितपुर महानगरपालिकाले नगरवासीका लागि पहिलो पटक डाक्टरसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
भदौ १ गते सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो सेवाको शुभारम्भ गरेकी हुन्।
महानगरभित्रका बिरामीलाई तत्काल अस्पताल पुर्याउन र बाटोमै आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा थालिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन्।
उनका अनुसार महानगरवासी जो-कोहीले २४ सै घन्टा खुला रहने हटलाइन नम्बर ११३१ मा सम्पर्क गरी यो सुविधा लिन सक्नेछन्।
कसरी काम गर्छ सेवाले?
हटलाइन नम्बर ११३१ मा फोन गर्नेबित्तिकै कल सेन्टरले १-२ रिङमै फोन उठाएर तुरून्तै स्वास्थ्य डिस्प्याच सेन्टरमा ट्रान्सफर गर्छ। डिस्प्याच सेन्टरमा रहेका दक्ष स्वास्थ्यकर्मीले फोनकर्तासँग कुराकानी गरी बिरामीको वास्तविक अवस्था मूल्यांकन गर्छन्।
बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्ने आपत्कालीन अवस्था पुष्टि हुनासाथ औषधि, अक्सिजन र आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली बोकेको एम्बुलेन्स घरमै पुग्छ।
फोन गरेको १५ मिनेटभित्रै पुग्ने लक्ष्य राखिएको प्रवक्ता महर्जनले जानकारी दिए।
'एम्बुलेन्सभित्रै बिरामीको प्रारम्भिक जाँच तथा आपत्कालीन उपचार सुरू गरिन्छ। बिरामीका परिवारले रोजेकै अस्पतालमा लैजाने व्यवस्था गरिएको छ,' उनले भने, 'एम्बुलेन्स घरतर्फ जाँदै गर्दा डिस्प्याच सेन्टरले सम्बन्धित अस्पतालको आकस्मिक कक्ष (इमरजेन्सी) मा सम्पर्क गरी बेड खाली राख्न र पूर्वतयारी गर्न समन्वय गर्छ।'
यसका लागि शिक्षण अस्पताल (टिचिङ) र पाटन अस्पतालसँग व्यावसायिक समझदारी गरी ६ जना चिकित्सकको टोली सिफ्ट अनुसार २४ सै घन्टा तयारी अवस्थामा राखिएको छ।
हाल तीनवटा एम्बुलेन्स सञ्चालनमा छन् भने निकट भविष्यमा चौधरी ग्रुपबाट प्राप्त हुने दुईवटा एम्बुलेन्स पनि थपिने महानगरको योजना छ।

सामान्य परामर्श र ड्रेसिङका लागि वडा क्लिनिक
सेवा सुरू भएसँगै हटलाइनमा फोन आउन थाले पनि प्रायः फोन सामान्य स्वास्थ्य परामर्श र ड्रेसिङका लागि आउने गरेका छन्। सोमबारदेखि मंगलबार अपराह्नसम्म सोधपुछसहित ५० भन्दा बढी फोन आएका छन्।
तर यो सुविधा आपतकालीन अवस्थाका बिरामीलाई अस्पताल पुर्याउन मात्र लक्षित रहेकाले सामान्य अवस्थाका (जस्तै: ड्रेसिङ गराउनुपर्ने वा सामान्य परामर्श चाहिने) नगरवासीका लागि महानगरले वडास्तरीय स्वास्थ्य क्लिनिकमार्फत घरमै स्वास्थ्यकर्मी पठाउने वा नजिकैको वडा क्लिनिकमा रिफर गर्ने प्रबन्ध मिलाएको छ।
फिलिपिन्सको मकाटी सहरबाट प्रेरित अवधारणा
चिकित्सकसहितको एम्बुलेन्स सेवा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको अवधारणा हो।
एसिया प्यासिफिक क्षेत्रका सहरहरूको सञ्जाल 'सिटीनेट' को सम्मेलन क्रममा फिलिपिन्सको मकाटी सहर पुग्दा त्यहाँका मेयरले सञ्चालन गरेको आधुनिक आपतकालीन स्वास्थ्य सेवाबाट प्रेरित भएर उनले ललितपुरमा पनि यो योजना ल्याएका हुन्।
'त्यही सोचलाई साकार पार्न महानगरले नीति तथा बजेट तय गरी तीव्र गतिमा जनशक्ति र पूर्वाधार व्यवस्थापनको काम अघि बढाएको हो,' प्रवक्ता महर्जनले भने, 'साउन १ गतेबाटै सुरू गर्ने योजना भए पनि तयारी नपुग्दा एक महिना ढिला भयो।'
चिकित्सकसहितको एम्बुलेन्स सेवा नेपालमै पहिलो अभ्यास भएकाले महानगरले 'काम गर्दै र सिक्दै' यसलाई अझ परिष्कृत र प्रभावकारी बनाउँदै लग्ने रणनीति लिएको छ।