पछिल्लो तीन वर्षमा रूपन्देहीमा पानीमा डुबेर १११ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म रुपन्देहीका विभिन्न खोला, नदी, पोखरी, सिँचाइ कुलो, सेप्टी ट्याङ्की, निर्माणका क्रममा खनिएका खाडल तथा स्विमिङ पुलहरूमा डुबेर उक्त संख्या मानवीय क्षति भएको हो।
पछिल्लो समय पानीमा डुबेर हुने दुर्घटना र त्यसबाट हुने गरेको मानवीय क्षति भयावह बनिरहेको प्रहरीले जनाएको छ।
यसरी डुबेर मृत्यु हुनेमा आधा भन्दा बढी १८ वर्ष मुनिका बालबालिका रहेका छन्। प्रहरीको तथ्याङ्क अनुसार मृतक मध्ये ५८ जना १८ वर्षमुनिका छन्। १९ देखि ४० वर्ष उमेर समूहका ३० जना र ४१ वर्षभन्दा माथिका २३ जनाको मृत्यु भएको छ।
घर वरपर रहेका खुला पोखरी, कुलो, निर्माणका खाडल तथा सेप्टी ट्याङ्कीमा खेल्ने क्रममा सानो उमेरका बालबालिका डुब्ने गरेका छन् भने खोला तथा पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता क्रममा किशोर किशोरी डुब्ने गरेका छन्।
रुपन्देहीका तिनाउ, दानव, रोहिणी, त्रिशूली र अर्दौला लगायतका खोलाहरू पौडी खेल्ने क्रममा बढी जोखिमपूर्ण देखिएका छन्।
प्रहरीका अनुसार तीन वर्षमा तिनाउ नदीमा मात्रै १५ जनाको डुबेर मृत्यु भएको छ। बुटवल र तिलोत्तमा क्षेत्रमा नदीजन्य पदार्थको उत्खननको क्रममा बनेका गहिरा दह, बाढीले कटान गरेर बनेका खोँच तथा ड्याम आसपासमा पौडी खेल्ने र नुहाउने क्रममा ज्यान गुमाएका छन्।
त्यस्तै दानव नदीमा ८ जना तथा रोहिणी र त्रिशूली खोलामा ७/७ जनाको मृत्यु भएको छ।
पानीमा डुबेर हुने क्षतिलाई कम गर्न पौडी खेल्न जाने सम्भावित खोला, नदी, पोखरीहरूमा त्यसको बारेमा जानकारी मूलक सूचना टाँस्नुपर्ने र स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले पानीमा डुबेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेकाले स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी भएको बताए।
प्रहरी नायब उपरीक्षक चन्दले अभिभावकको निगरानी नहुँदा तीन वर्षको अवधिमा ३ वर्ष मुनिका १० जना बालबालिकाको डुबेर मृत्यु भएको बताए।
खुला सेप्टीक ट्याङ्की, निर्माणाधीन संरचनाका खाडल, पोखरी तथा सिँचाइका लागि बनाइएका कुलो तथा घरमा बाल्टी तथा बाटामा भरेर राखिएको पानीमा डुबेर पनि साना बालबालिकाहरूको मृत्यु हुने गरेको चन्दको भनाइ छ।
उनले घर वरपर पानी जमेका खाडल पुर्ने र पानी भरिएका भाँडाहरू ढाकेर राख्न सके पनि साना बालबालिकाहरूलाई डुब्नबाट जोगाउन सकिने बताए।