मोटरसाइकल दुर्घटनामा घाइते भएका सल्यान कपुरकोट-६ का ३४ वर्षीय वेदबहादुर वलीको मृत्यु भएको छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपुरकोट गाउँपालिकाका सभापति हुन्।
दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ अस्पतालमा उपचाररत उनको बुधबार बिहान ८ बजेतिर मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिए।
मंगलबार बिहान उनी दुर्घटनामा परेका थिए।
मंगलबार बिहान ११:४५ बजे उनी सवार बा ६८ प २५२८ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्गमा यात्रुवाहक लु.प्र. ०१–००१ ख १११२ नम्बरको गाडीले ठक्कर दिएको थियो।
त्यसक्रममा वेदबहादुर र उनीसँगै मोटरसाइकलमा रहेका कपुरकोट-६ कै ५२ वर्षीय शुकलाल वली गम्भीर घाइते भएका थिए। शुकलाल वेदबहादुरका काका हुन्।
घाइते दुवै जनालाई उद्धार गरी कपुरकोटस्थित आधारभुत अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंजका लागि रिफर गरिएको थियो।
दाङ आइपुग्दा उनको स्वास्थ्य चिन्ताजनक बनेपछि दाङको तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटलमा लगिएको थियो।
चिकित्कसले घाइते वलीलाई बाँके पुर्याउन कठिन हुने सल्लाह दिएपछि त्यहाँबाट उनीहरुलाई थप उपचारका लागि घोराही पुर्याइएको थियो।
उनको उपचारका क्रममा बिहान मृत्यु भएको हो। शुकलालको टाउकोमा रगत जमेको भनिएको छ। उनको नेपालगन्जमा उपचार भइरहेको छ।
कपुरकोट – ६ का वडाध्यक्ष श्याम कृष्ण बोहराका अनुसार काका भतिज तरकारीको हरहिसाब बुझ्न कपुरकोट जाँदै थिए। उनीहरूले हाटबजारमा बिहानै तरकारी पठाएका थिए।
डिएसपी पातलीका अनुसार गाडीका चालक दाङ तुलसीपुर उपमहानगरपालिका –११ का २७ वर्षीय सुरज मिजार प्रहरी नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको उनले बताएका छन्।