अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजलाई अमेरिकाको नयाँ भूभाग भनेका छन्।
मंगलबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा ट्रम्पले हर्मुजको नक्सा पोस्ट गरेर त्यसमा 'अमेरिकाको नयाँ भूभाग' लेखेका हुन्।
युद्धयता स्ट्रेट अफ हर्मुज प्रमुख विवादको केन्द्र बन्दै आएको छ।
अमेरिकाले यस क्षेत्र वरपर नौसेना तैनाथ गरेर इरानमाथि नाकाबन्दी लगाएको छ।
युद्धअघि संसारभरि आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको २५ प्रतिशत भाग यही मार्गबाट पैठारी हुँदै आएको थियो।
फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरेपछि इरानले जलमार्ग बन्द गर्दै आएको छ।
अहिले अमेरिकाले नाकाबन्दी लगाए पनि इरानले सोही जलमार्ग भएर आवत जावत गरेका विभिन्न देशका तेलबाहक पानीजहाजमाथि आक्रमण गरिरहेको छ।
इरान हर्मुजबाट आवतजावत गर्ने जहाजहरुबाट टोल शुल्कका नाममा पैसा उठाउन चाहन्छ। यसका लागि उसले ओमानसँग पनि छलफल गरेको थियो।
अमेरिका भने यो जलमार्गमा निर्वाध रूपमा जहाजहरू आवतजावत गर्न पाउनुपर्ने पक्षमा छ। त्यसकारण हर्मुजको समस्या अझै समाधान नहुँदा युद्ध टुंगिएको छैन।
ट्रम्पले यसअघि पनि होर्मुजलाई अमेरिकी नियन्त्रणमा ल्याउने विषय उठाउँदै आएका थिए। शुक्रबार उनले केही हल्का शैलीमा आफूले चाँडै होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्न सक्ने बताएका थिए।
त्यसको तत्काल प्रतिक्रिया दिँदै इरानले हर्मुज इरान कै रहने भनेको थियो।
सोमबार ट्रम्पले होर्मुजमाथि अमेरिकी नियन्त्रण कायम गर्ने सम्भावनालाई अझ स्पष्ट रूपमा उठाएका थिए। उनले यस्तो कदम ‘राम्रो विचार’ हुने बताएका थिए।
'मलाई लाग्छ, यो उत्कृष्ट विचार हो। मेरो मतलब, नाकाबन्दीमार्फत हामी यसलाई नियन्त्रण गरिरहेका छौँ। यसलाई भूभाग घोषणा गर्ने विचार मलाई मन पर्छ। होर्मुजमाथि हाम्रो पूर्ण नियन्त्रण छ,' ट्रम्पले भनेका थिए।
उनले इरानले जलमार्गमा बारुदी सुरुङ राख्न सक्ने जोखिमसमेत औंल्याएका थिए।
'उनीहरूले समस्या सिर्जना गर्न सक्छन्, पानीमा माइन राख्न सक्छन्। मानिसहरूलाई आफ्नो अर्बौं डलर मूल्यका जहाज माइनमा ठोक्किएको मन पर्दैन,' ट्रम्पले भने।
ट्रम्पले अमेरिकी नाकाबन्दी पनि प्रभावकारी भएको दाबी गरेका छन्। उनले अमेरिकाले हरेक साता लाखौँ ब्यारेल तेलको आपूर्ति प्रभावित गरिरहेको दाबीसमेत गरेका थिए।
अमेरिका बाहिरको भूभागलाई ट्रम्पले आफ्नो भनेको यो पहिलो पटक होइन।
सन् २०२५ मा दोस्रोपटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउन सकिने बताएका छन्।
उनले डेनमार्क अन्तर्गतको स्वायत्त क्षेत्र ग्रीनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने इच्छा पनि व्यक्त गरेका छन्। त्यस्तै, गजा क्षेत्रलाई अमेरिकी नियन्त्रणमा लिने विषयसमेत उनले उठाएका थिए।
यद्यपि तीमध्ये कुनै कदम अहिलेसम्म कार्यान्वयन भएको छैन।
ट्रम्पले नक्सा पोस्ट गरेको करिब दुई घन्टापछि इरानसँग कुनै वार्ता वा संवाद नभएको दाबी गरे।
यो दाबी उनका दूत तथा ज्वाइँ ज्यारेड कुशनरको सोमबारको भनाइसँग बाझिएको छ। कुशनरले अमेरिका र इरानबीच धेरै सकारात्मक र सक्रिय कुराकानी भइरहेको बताएका थिए।
इस्लामिक रिपब्लिक अफ इरानसँग कुनै वार्ता वा कुराकानी भइरहेको छैन र तय पनि गरिएको छैन। नौसैनिक नाकाबन्दी पूर्ण रूपमा लागू छ,' ट्रम्पले मंगलबार ट्रुथ सोसलमा लेखेका छन्।
उनले हर्मुज जलमार्ग खुला रहेको निर्वाध रूपमा सञ्चालनमै रहेको दाबी गरेका छन्। समुद्रमुनि बिच्छ्याइएको विस्फोटक वस्तु पनि विस्फोट गराएर जलमार्ग सुरक्षित गराइएको ट्रम्पले बताएका छन्।
तर इरानले भने हर्मुज खुलाउन अमेरिकाले आफ्नो नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्याएको छ।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले मंगलबार अमेरिकाले तेहरानका माग पूरा नगरेसम्म हर्मुज नखुल्ने बताएका छन्।
'अमेरिकी प्रतिबद्धताहरू कार्यान्वयन नभएसम्म होर्मुज जलडमरूमध्य नखोलिने कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु,' मंगलबार इरानको सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै गालिबाफले भनेका थिए।